सहज र सर्वसुलभ न्यायमा कानुनमन्त्री गौतमको जोड

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नागरिकका आवश्यकतालाई सम्बोधन गर्दै सबैको सहज पहुँचमा न्याय पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा मन्त्री गौतमले सामाजिक परिवर्तन र नागरिकको चेतनास्तरलाई मध्यनजर गर्दै प्रचलित कानुनी प्रक्रियालाई सरल र समयानुकूल सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयकमाथिको छलफलमा मन्त्री गौतमले अदालतमा मुद्दामामिलाको लामो प्रक्रियाका कारण पक्षहरूबीचको सम्बन्ध थप बिग्रन सक्ने र सामाजिक सद्भावमा समेत असर पर्न सक्ने भएकाले मेलमिलापमार्फत विवाद समाधान गर्दा न्याय निरूपण सहज हुने बताउनुभयो ।

मन्त्री गौतमले स्थानीय तहमा हुने सानातिना विवाद तथा आपसी झगडालाई मेलमिलापका माध्यमबाट समाधान गर्ने अभ्यास सकारात्मक रहेको पनि बताउनुभयो ।
बैठकमा सांसदहरुले मेलमिलापका क्रममा सीमान्तकृत तथा पिछडिएका समुदायले भोग्नुपर्ने समस्या, विवाद र चुनौतीप्रति संवेदनशील भई न्यायोचित ढङ्गले विवाद समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरूले विपद् प्रभावित क्षेत्रका नागरिक तथा सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट सुरक्षित स्थानमा स्थानान्तरण, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन आवश्यक कानुनी सुधार गर्नुपर्नेमा समेत ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सरोकारवालाहरुले मेलमिलापसम्बन्धी तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरी स्थानीय तहमै मेलमिलाप प्रक्रिया र न्याय निरूपणलाई पहुँचयोग्य बनाइएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्