तपाईँ सुन्दै हुनुहुन्छः

रारामा बाटो बिराएर अलपत्र परेका १२ पर्यटकको सेनाद्वारा सकुशल उद्धार

मुगु । रारा ताल भ्रमणमा आएका १२ जना आन्तरिक पर्यटक चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

सोमबार राति करिब १० बजे मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जङ्गलमा अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको हनुमानध्वज गुल्म राराको टोलीले उद्धार गरेको हो।

हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडाका १२ जना पर्यटक रारा भ्रमणका क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेका थिए।

पर्यटक अलपत्र परेको सूचना प्राप्त हुनासाथ नेपाली सेनाले उद्धार टोली परिचालन गरेको गुल्मपति श्रेष्ठले बताउनुभयाे । उद्धारमा खटिएको टोलीले राति करिब १० बजे सबै पर्यटकलाई सकुशल उद्धार गरी सल्लेरीस्थित होटलसम्म पुर्‍याएको उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button