वित्तीय सङ्घीयता कार्यान्वयनमा ६ प्रदेशका अर्थमन्त्रीहरूको जोड

सुर्खेत । तीनै तहका सरकारबीच वित्तीय स्रोतको बाँडफाँट तथा समन्वयका लागि ६ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरु सुर्खेतमा भेला हुनु भएको छ ।
आज कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको समन्वयमा भएको कार्यक्रममा संविधानको मर्म अनुसार वित्तीय सङ्घीयतालाई संघ, प्रदेश र स्थानीय तहबिच कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । तीनै तहका सरकारबीच स्रोत परिचालन, बजेट व्यवस्थापन र वित्तीय जिम्मेवारीमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोजिने बारेमा छलफल भएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले जानकारी दिनु भयो ।
उहाँले बैठकमा वित्तीय सङ्घीयता कार्यान्वयनको वर्तमान अवस्था, प्रदेशको राजस्व परिचालन क्षमता, खर्चको आवश्यकता, वित्तीय स्रोतको न्यायोचित वितरण, बजेट खर्च गर्ने क्षमतासँगै नागरिकप्रतिको जबाफदेहीताका विषयमा छलफल केन्द्रित भएको बताउनु भयो । उहाँका अनुसार प्रदेश सरकारहरूले ल्याएका असल अभ्यास र त्यसबाट प्राप्त सिकाइ आदानप्रदान गर्नुका साथै संघीय शासन प्रणालीमा प्रदेश सरकारको वित्तीय अधिकार, स्रोतको उपलब्धता र खर्च गर्ने क्षमताबीच तादात्म्य मिलाउनु छलफलको प्रमुख उद्देश्य हो ।
कार्यक्रममा प्रदेशहरूले भोगिरहेका वित्तीय तथा बजेट व्यवस्थापनसम्बन्धी समस्या र तिनको समाधानका साझा उपाय पहिल्याउने बारेमा छलफल भएको थियो । बैठकबाट प्राप्त निष्कर्षलाई आगामी आर्थिक वर्षमा सातवटै प्रदेशका सरकारका नीति, कार्यक्रम तथा बजेट निर्माणमा समावेश गरिने लक्ष्य रहेको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश बाहेकका ६ प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी हुनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्