तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ । यस प्रतियोगितामा उसको यो दोस्रो जित हो । 

सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । आज भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६ दशमलव चार ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रनको पारी खेले । यस्तै, ईशान पाण्डेले २१ र विनोद भण्डारीले ११ रन जोडे । अविजित रहेका शेरफन रदरफर्डले २१ र आरिफ शेखले २० रन बनाए ।

चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, मौसम ढकाल र रिजन ढकालले समान एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो ।

उसका लागि रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले । यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५/१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।

सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक/एक विकेट लिए । आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाण्डु गोर्खाजले चार विकेटको जित दर्ता गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button