तपाईँ सुन्दै हुनुहुन्छः

७ हजार ८ सय किलो बढी गाँजा बरामद, ट्रक छाडेर चालक फरार

उदयपुर । उदयपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको बेलका नगरपालिकाबाट ७ हजार ८ सय २६ किलो ८ सय ग्राम अवैध गाँजा बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार अवैध लागुऔषध गाँजा बोकेको ट्रक आउँदै गरेको भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरको टोलीले मदन भण्डारी लोकमार्गमा चेकपोइन्ट स्थापना गरी सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बोकेको ट्रकलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

तर, प्रहरीको चेकजाँचबाट बच्न खोजेका कारोबारीले गाँजासहितको ट्रक लिएर भागेका थिए । उनीहरूले ट्रकलाई बेलका नगरपालिका–८ स्थित कोठु खोला क्षेत्रमा पुर्‍याएर छाडेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उक्त स्थानबाट ठूलो परिमाणमा गाँजा फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको प्र १–०२–००२ ख ००२०६ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको जनाएको छ । गाँजा र ट्रक छाडेर चालक भने फरार भएका छन् । फरार चालक तथा गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको ७ हजार ८ सय २६ किलो ८ सय ग्राम गाँजा र ट्रकलाई इलाका प्रहरी कार्यालय रामपुरमा राखिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान, गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउने तयारी गरिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लामा एकै पटक यति ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद हुनुले यसको ओसारपसारमा संलग्न सञ्जालबारे थप अनुसन्धान आवश्यक देखिएको छ । प्रहरीले फरार चालकसहित कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button