तपाईँ सुन्दै हुनुहुन्छः

जापानका लागि प्रस्तावित राजदूत थापाद्वारा नाम फिर्ता

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिनुभएको छ ।

संसदीय सुनुवाई समितिमा आज पत्र पठाएर प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिनुभएको हो ।

बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले स्वार्थ बाझिने कुरासँग जोडिएर उठेको प्रश्नलाई ख्याल गरेर थापाले आफ्नो नाम फिर्ता लिनुभएको बताउनुभयो ।

समितिमा थापाले पठाएको पत्रमा आफूले देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम नमानेको र आगामी दिनहरूमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । सरकारले राजदूत नियुक्तिका लागि सिफारिस १३ जना मध्ये १० राजदूतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरिएको थियो ।

जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पिआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पिआर त्यागिसकेको स्पष्टीकरण दिए पनि सांसदहरूले संविधानको धारा २९१ को व्यवस्था र पिआर त्यागेको अवधिको विषयमा प्रश्न उठेपछि स्पष्ट हुन भनेर समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागेको थियो ।

यसैबीच, समिति समक्ष संसदीय सुनुवाईका लागि प्रस्तावित न्यायाधीशहरू विरुद्ध ९ वटा उजुरी प्राप्त भएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button