तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाको विकास, पर्यटन र समृद्धिका लागि काम गरेर देखाउँछु: गृहमन्त्री गुरुङ

गोरखा। गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँग अन्तरक्रिया गर्दै जिल्लाका विद्यमान समस्या समाधान र विकास निर्माणलाई गति दिन प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शनिबार गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जिल्लाको पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय सञ्चालनका चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

गोरखा पर्यटकीय तथा आर्थिक सम्भावनाले भरिपूर्ण भए पनि सोचेअनुसार विकास हुन नसकेको भन्दै सहभागीहरूले सडक पूर्वाधारको स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राख्न जोड दिनुभएको थियो। साथै, ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको विकास र स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोगका लागि सरकारले ठोस नीति ल्याउनुपर्ने उनीहरूको माग थियो।

कार्यक्रममा किसानहरूले उत्पादन गरेका कृषि उपजले उचित बजार र मूल्य नपाएको विषय प्रमुखताका साथ उठाइएको थियो। स्वदेशी उत्पादनलाई बजारमा प्राथमिकता दिँदै किसानको श्रमको उचित मूल्य सुनिश्चित गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने व्यवसायीहरूले बताउनुभयो। यस्तै, उद्योगी-व्यवसायीहरूले लगानीमैत्री वातावरण निर्माण, स्थानीय स्तरमै रोजगारी सिर्जना र साना तथा मझौला उद्योगका समस्या समाधानमा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

सहभागीका गुनासा र सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्नुहुँदै गोरखाको विकास र समस्या समाधानका लागि निरन्तर लागिपर्ने बताउनुभयो। गोरखा र गोरखाली जनताकै कारण आफूले गृहमन्त्रीको जिम्मेवारी पाएको स्मरण गर्दै उहाँले जिल्लावासीका अपेक्षालाई गम्भीरतापूर्वक लिने स्पष्ट पार्नुभयो।

यसैबीच, केही साताअघि बूढीगण्डकी नदीमा आएको बाढीले बगाएको पुलको पुनर्निर्माण प्रक्रिया तत्काल अघि बढाएको भन्दै सहभागीहरूले गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियो।

गोरखाका बुद्धिजीवी तथा व्यवसायीहरूले जिल्लावासीलाई आश्वासन र भाषणभन्दा पनि ठोस परिणाम दिने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पूर्वाधार, कृषि, पर्यटन र उद्योगका क्षेत्रमा नतिजामुखी काम गर्न गृहमन्त्रीसँग आग्रह गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button