खोर्लाबेसी र लुसिकाङ जोड्ने अस्थायी सडक अवरुद्ध
गोरखा । बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत गोरखाको खोर्लाबेसी र लुसिकाङ जोड्ने अस्थायी सडक बूढीगण्डकी नदीले आज बगाएको छ । वर्षासँगै नदीमा पानीको बहाव बढेपछि करिब एक सय मिटर सडक बगाएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

गत असोज २५ गते आएको बाढीले पनि सोही खण्डमा करिब दुई सय ५० मिटर सडक बगाएको थियो । त्यसपछि खोलाको बहावलाई अन्यत्र मोडेर कुनातर्फबाट अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको प्रयास गरिएको थियो । नदीमा पानीको बहाव बढेसँगै आज सडक बगाएको गुरुङको भनाई छ ।
बेनिघाट–आरुघाट–लार्के हुँदै तिब्बत जोड्ने यो सडक उत्तरी गोरखाको प्रमुख यातायात मार्ग हो । सडक पटक–पटक बगाउँदा उत्तरी गोरखाका स्थानीयको आवतजावत प्रभावित हुनुका साथै खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ । सडकको दिगो समाधान नहुँदा उत्तरी गोरखाको यातायात र आपूर्ति व्यवस्था थप प्रभावित हुने जोखिम बढेको छ । उत्तरी गोरखाका ल्हो, विही, प्रोक, चुम्चेत र छेकम्पार क्षेत्रमा खाद्य संकट सुरु हुन थालेको छ ।
यारु बगर र दोभान क्षेत्रमा बाटो खुलाउने प्रयास जारी रहेको नेपाली सेनाका मेजर विरोध रिजालले जानकारी दिनुभयो । शुक्रबारदेखि परेको पानीले खोर्लावेशी क्षेत्रमा सडक बगाए पछि पर्यटकहरूले पैदल यात्राको लागि वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् । सेनाको मेसिन सल्लेरी हुँदै जगत सम्म सडक निर्माण गरिरहेको रिजालको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्