बाँदर र बँदेलबाट अन्नबाली जोगाउन किसान बेसार खेतीतर्फ आकर्षित
बाँके।बाँदर र बँदेलले धान, मकै, गहुँ र तोरीलगायतका बाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर नगरपालिका–७, सल्यानी टोलका किसान खेती प्रणाली नै परिवर्तन गर्न थालेका छन्। जङ्गली जनावरबाट जोगाउन कठिन हुने परम्परागत अन्नबाली छाड्दै उनीहरू बेसार खेतीतर्फ आकर्षित भएका हुन्।
जङ्गलसँग जोडिएको बस्तीका किसानका लागि बेसार खेती अहिले वैकल्पिक आम्दानीको माध्यम बनेको छ। अन्य बालीमा जस्तो जङ्गली जनावरले क्षति नगर्ने र बिक्रीका लागि बजारसमेत गाउँमै उपलब्ध हुने भएकाले बेसार खेती विस्तार हुँदै गएको स्थानीय किसान बताउँछन्।
स्थानीय पूर्णकला गिरीले गत वर्ष चार कट्ठा जमिनमा बेसार खेती गर्नुभएको थियो। उत्पादन र आम्दानी राम्रो भएपछि यस वर्ष थप एक कट्ठामा खेती विस्तार गर्नुभएको छ। गत वर्ष २२ क्विन्टल बेसार उत्पादन गर्नुभएकी उहाँले यस वर्ष ३० देखि ३५ क्विन्टल उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ।
“धान, मकै, गहुँ र तोरी बाँदर तथा बँदेलले सखाप पार्छन्। बेसारलाई भने जङ्गली जनावरले क्षति गर्दैनन्। त्यसैले जङ्गलछेउको जमिनमा बेसार खेती गरेका छौँ,” गिरीले भन्नुभयो।
उहाँले काँचो बेसार, बिउ र पिँधेको बेसार बिक्री गर्दै आउनुभएको छ। उहाँका अनुसार बेसारको बिउ प्रतिक्विन्टल छ हजार रुपैयाँ, काँचो बेसार प्रतिक्विन्टल तीन हजार रुपैयाँ र पिँधेको बेसार प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री हुने गरेको छ। बेसार बिक्रीबाट प्राप्त आम्दानीले घरपरिवारका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्री खरिद गर्न सहज भएको उहाँले बताउनुभयो।
स्थानीय सरस्वती बुढाथोकीका अनुसार धान र मकैको तुलनामा बेसार खेतीमा लागत र श्रम कम लाग्ने तथा आम्दानी राम्रो हुने गरेको छ। रासायनिक मलको सट्टा जङ्गलको घाँसपात र गोठेमल प्रयोग गरेर खेती गर्न सकिने भएकाले पनि किसान यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ।
जङ्गली जनावरबाट हुने क्षतिको मारमा परेकी स्थानीय मनीषा घर्तीमगरले आगामी वर्षदेखि मकै खेती गर्दै आएको जमिनमा बेसार लगाउने तयारी गर्नुभएको छ। उहाँका अनुसार दुई कट्ठामा लगाएको मकै बाँदर र बँदेलले नष्ट गरेपछि परिवारले त्यसबाट कुनै लाभ लिन सकेन।
स्थानीय सुकी डाँगीले पनि चार कट्ठा जमिनमा बेसार खेती गर्नुभएको छ। जङ्गली जनावरको डर नहुने र बिक्रीका लागि व्यापारी गाउँमै आउने भएकाले अन्य बालीको तुलनामा बेसार खेती सहज लागेको उहाँले बताउनुभयो।
बेसार खेतीसँगै स्थानीय महिलाले प्रशोधन र बजारीकरणमा समेत सक्रियता देखाएका छन्। गाउँमै बेसार पिँध्ने मिल सञ्चालनमा ल्याइएको छ भने बेसार छिल्ने मेसिनसमेत भित्र्याइएको छ। स्थानीय महिलाको समूहले सञ्चालन गरेको मिलमा समूहका सदस्यलाई विशेष छुटको व्यवस्था गरिएको मनकुमारी थापाले बताउनुभयो।
उहाँका अनुसार बेसार खन्नासाथ व्यापारी गाउँमै आएर खरिद गर्ने गरेका छन्। काँचो बेसार बिक्री नभए बिउका रूपमा राख्न र आवश्यकताअनुसार पिँधेर बिक्री गर्न सकिने भएकाले उत्पादन खेर जाने जोखिमसमेत कम छ।
“पहिले हँसियाले बेसार छिल्नुपर्थ्यो। समय धेरै लाग्ने र काम गर्न असहज हुने गरेको थियो। अहिले मेसिन आएपछि सहज भएको छ,” पूर्णकलाले भन्नुभयो।
तराई भू–परिधि कार्यक्रम (ताल) को सहयोगमा किसानले बेसार खेतीसम्बन्धी जानकारी र सीप पाएपछि खेती विस्तार गर्न थालेका हुन्। जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि वैकल्पिक खेतीका रूपमा बेसार रोजेको स्थानीयको भनाइ छ।
पूर्णकलाका अनुसार सल्यानी टोलका करिब २० घरपरिवारले व्यावसायिक रूपमा बेसार खेती गर्दै आएका छन्। यस वर्ष गाउँमा एक सय क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने अनुमान गरिएको छ।
जङ्गली जनावरबाट हुने बालीनालीको क्षति न्यूनीकरणसँगै स्थानीय स्रोत, सीप र श्रमको उपयोग गरेर आम्दानी बढाउन सकिने उदाहरण सल्यानी टोलका किसानले प्रस्तुत गरेका छन्। उत्पादन, प्रशोधन र बिक्रीलाई गाउँमै जोड्न सके बेसार खेतीले स्थानीय महिलाको आर्थिक आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्रमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्