तपाईँ सुन्दै हुनुहुन्छः

पढाइसँगै कृषि उत्पादनमा जोडिँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

‘कमाउँदै पढ्दै’ कार्यक्रमबाट आत्मनिर्भर बन्दै युवापुस्ता

स्याङ्जा । किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक कृषि सीपमा जोड दिँदै स्याङ्जाको आँधीखोला गाउँपालिका–५, रंगेठाँटीस्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थीहरू उत्पादन कार्यमा सक्रिय बनेका छन्।

विद्यालयको ‘कमाउँदै पढ्दै’ कार्यक्रम अन्तर्गत बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले विद्यालय परिसरमै काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरी बिक्रीका लागि तयार पारेका छन्। विद्यार्थीहरू आफैँ बीउ रोप्ने, नर्सरी व्यवस्थापन गर्ने, बेर्ना हुर्काउनेदेखि बजारीकरणसम्मका सबै चरणमा सक्रिय रूपमा संलग्न हुँदै आएका छन्।

विद्यालयमा निर्माण गरिएका पाँचवटा टनेलमा विभिन्न तरकारी तथा बेर्ना उत्पादन गरिँदै आएको छ। बेर्ना बिक्रीबाट सङ्कलित आम्दानी विद्यार्थीहरूको शैक्षिक भ्रमणलगायत शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको छ।

विद्यार्थीहरूको सहभागिता र सक्रियतामा उल्लेख्य सुधार आएको विद्यालयका प्रधानाध्यापक दीप्ती नारायण शर्मा बताउँछन्। आगामी दिनमा कक्षा ८ र ९ लगायत अन्य कक्षाका विद्यार्थीहरूलाई समेत टनेलमा छुट्टाछुट्टै प्लट उपलब्ध गराएर उत्पादन र आम्दानीसँग जोड्ने विद्यालयको योजना छ।

बाली विज्ञान विषयको पठनपाठन तथा प्रयोगात्मक अभ्यासका लागि आँधीखोला गाउँपालिका, वडा कार्यालय, इको हिमाल संस्था र आक्स नेपालले सहकार्य तथा सहयोग गर्दै आएका छन्।

विद्यालयको यो व्यावहारिक अभ्यासले विद्यार्थीहरूलाई श्रमको सम्मान गर्न, उद्यमशीलताको महत्त्व बुझ्न र आत्मनिर्भर बन्न ठूलो टेवा पुर्‍याएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button