तपाईँ सुन्दै हुनुहुन्छः

चौतारामा हर्षोल्लासका साथ भित्राइयो फूलपाती, यस्तो छ ऐतिहासिक पृष्ठभूमि

सिन्धुपाल्चोक । नेपालीहरूको महान् पर्व बडा दसैँको अवसरमा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पनि धार्मिक विधि, परम्परा र सांस्कृतिक उत्साहका साथ फूलपाती भित्राइएको छ । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको सहभागितामा परम्परागत विधिअनुसार फूलपाती भित्राइएको हो ।

फूलपाती भित्र्याउने कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । 

जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको भगवती मन्दिरबाट बाजागाजासहित सुरु भएको फूलपाती यात्रा चौतारा बजार हुँदै सातकन्या मन्दिरमा पुगेर पूजाआजा गरेपछि हर्षबढाइँका साथ पुनः प्रहरीको दसैँघरमा फर्किएको थियो । परम्परागत विधिअनुसार फूलपाती भित्राएसँगै चौतारामा दसैँको रौनक थपिएको छ ।

चौतारामा फूलपाती भित्राउने परम्पराको ऐतिहासिक पृष्ठभूमि 
काठमाडौँको हनुमानढोका दरबारमा गोरखाबाट जमरा र फूलपाती ल्याएर फूलपाती भित्राउने ऐतिहासिक परम्परा रहेझैँ देशका विभिन्न जिल्ला सदरमुकाममा पनि फूलपाती भित्राउने चलन लामो समयदेखि प्रचलित छ । 

चौतारामा फूलपाती भित्राउने परम्परा पनि ऐतिहासिक प्रशासनिक तथा सैनिक संरचनासँग जोडिएको छ । चौतारामा फूलपाती भित्राउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन अभिलेख नभए पनि यसको सुरुवात राणाकालीन समयमा भएको हुन सक्ने स्थानीय ७७ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुमान छ । चौताराको पुरानो प्रशासनिक व्यवस्था, सैनिक उपस्थिति र दसैँका अवसरमा गरिने मौलो पूजाको परम्पराले यस संस्कृतिको ऐतिहासिक महत्वलाई उजागर गर्छ ।

राणाकालीन सैनिक व्यवस्था र गोश्वाराको स्थापना
राणाकालीन समयमा जिल्लाका सदरमुकामहरूको सुरक्षा व्यवस्थाका लागि सैनिक टुकडी राख्ने चलन थियो । त्यतिबेला अहिलेको जस्तो आधुनिक हातहतियार र सुरक्षा प्रविधि उपलब्ध थिएनन् । सैनिकहरू सामान्य भरुवा बन्दुकसहित खटिने र कालो दौरा सुरुवाललाई पोसाकका रूपमा प्रयोग गर्ने गरेको श्रेष्ठ बताउनु हुन्छ । त्यस्ता सैनिक टुकडीलाई त्यसबेला ‘मिलिसिया’ भन्ने गरिन्थ्यो । चौताराको सुरक्षाको जिम्मेवारी पनि शिवदल गुल्मको मिलिसिया टुकडीले सम्हाल्ने गरेको थियो ।

ऐतिहासिक विवरणअनुसार वि.सं. १९३६ मा चौतारामा ‘जङ्गी परेडघर’ निर्माण गरिएको थियो । पछि वि.सं. १९६५ मा उक्त भवन गोश्वाराका रूपमा प्रयोग हुन थाल्यो । त्यसपछि प्रशासनिक संरचनाअनुसार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको प्रशासनिक कामसमेत यही गोश्वाराबाट सञ्चालन भएको थियो ।

गोश्वाराको प्रमुखका रूपमा राणा शासकले नियुक्त गरेका अधिकारीलाई ‘बडाहाकिम’ भनिन्थ्यो । अहिलेको प्रमुख जिल्ला अधिकारीको पदसँग मिल्दोजुल्दो जिम्मेवारी बडाहाकिमले निर्वाह गर्ने गर्थे । त्यतिबेला जिल्लाबाट सङ्कलन भएको राजस्व सुरक्षित राख्न तीनवटा साँचोको व्यवस्था गरिएको थियो । ती साँचो क्रमशः बडाहाकिम, माल अड्डाका हाकिम र अदालतका हाकिमसँग रहने गर्थे । राजस्व राखिएको कोठा खोल्नुपर्दा तीनै जना अधिकारीको उपस्थितिमा मात्र खोल्ने व्यवस्था रहेको स्थानीय ऐतिहासिक विवरणमा उल्लेख छ ।

फूलपाती र मौलो पूजाको परम्परा
चौतारामा फूलपाती भित्राउने परम्परा गोश्वाराको प्रशासनिक अभ्यास र मौलो पूजासँग पनि सम्बन्धित रहेको श्रेष्ठ बताउनुहुन्छ । उहाँको अनुसार गोश्वारामा पर्ने कतिपय ठाडा उजुरीमा विवाद समाधान गर्न वादी र प्रतिवादी दुवैलाई तामाको भाँडा वा मौलो समातेर कसम खुवाउने तथा सत्य बोल्न लगाउने चलन थियो । यसरी कसम खुवाउने क्रममा कुनै पक्षले तामा वा मौलो समाउन नमानेमा त्यसलाई न्यायनिसाफको प्रक्रियामा अर्थपूर्ण रूपमा लिने गरिन्थ्यो । उक्त परम्परासँग जोडिएको मौलो अहिले पनि प्रमुख जिल्ला अधिकारीको क्वार्टर परिसरमा रहेको छ ।

दसैँका अवसरमा गोश्वाराबाट बेलपत्र, जमरा, उखुलगायतका सामग्री डोलीमा राखेर सुरक्षा निकायका प्रतिनिधि, कार्यालय प्रमुख तथा कर्मचारी, स्थानीय बासिन्दा र विद्यार्थी सहभागी भएको ¥यालीसहित सातकन्या मन्दिरमा लगिने गरिन्थ्यो । त्यहाँ विधिपूर्वक पूजाआजा गरेपछि हर्षबढाइँका साथ फूलपाती दसैँघरमा भित्राउने परम्परा रहेको थियो ।

सातकन्या देवीको मन्दिरमा फूलपाती लगेर पूजाआजा गर्ने र त्यसपछि दसैँघरमा भित्राउने प्रचलनका कारण उक्त स्थान ‘फूलपाती पर्साउने’ नामले समेत परिचित रहेको छ । यसले चौताराको फूलपाती परम्परा धार्मिक आस्थामा मात्र सीमित नभई स्थानीय इतिहास, प्रशासनिक अभ्यास र सांस्कृतिक पहिचानसँग पनि जोडिएको देखिन्छ ।

लोप भएको परम्पराको पुनरुत्थान
 लामो समयदेखि चल्दै आएको फूलपाती भित्राउने परम्परा वि.सं. २०१९ मा शिवदल गुल्म रामेछाप स्थानान्तरण भएपछि केही समयका लागि रोकिएको थियो । सैनिक टुकडीको स्थानान्तरणसँगै परम्परागत रूपमा सञ्चालन हुँदै आएको फूलपाती समारोहले निरन्तरता पाउन भने सकेन । यद्यपि, यस ऐतिहासिक संस्कृतिलाई पुनः जीवन्त बनाउन तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण भुर्तेल र प्रहरी नायब उपरीक्षक सुरतबहादुर शाहले विशेष पहल गरेको बताइन्छ ।उहाँहरूको प्रयासमा वि.सं. २०५३ सालदेखि फूलपाती भित्राउने परम्परालाई पुनः निरन्तरता दिइएको थियो ।

त्यसयता प्रत्येक वर्ष बडादसैँको सप्तमीका दिन सातकन्या मन्दिरमा पूजाआजा गरी हर्षबढाइँसहित फूलपाती दसैँघरमा भित्राउने परम्पराले निरन्तरता पाउँदै आएको छ ।

धार्मिक आस्था, ऐतिहासिक विरासत र सांस्कृतिक पहिचानसँग जोडिएको चौताराको फूलपाती परम्परा आज पनि स्थानीय समुदायलाई एउटै सूत्रमा बाँध्ने साझा उत्सवका रूपमा स्थापित छ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस परम्पराको संरक्षण र निरन्तरताले नयाँ पुस्तालाई आफ्नो इतिहास र संस्कृतिसँग परिचित गराउनसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button