तपाईँ सुन्दै हुनुहुन्छः

दुग्ध विकास संस्थान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटायो


काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आई मौज्दात बढेपछि सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ ।

यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० र धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ ।

घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा समेत एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

लकडाउन केही खुकुलो भएसँगै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा क्रमिक रुपमा सुधार हुँदै आएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।

डिडिसीको तथ्यांक अनुसार बन्दाबन्दीका समयभन्दा हाल चार प्रतिशतले दूध खपतमा वृद्धि भएपनि अन्य पदार्थको खपतमा भने कमी आएको छ ।

लकडाउन अघिको तुलनामा काठमाडौँ उपत्यकामा मात्र दैनिक १२ प्रतिशत दूध खपतमा कमी आएको जनाइएको छ ।

महानिर्देशक पौडेलका अनुसार बन्दाबन्दीअघि काठमाडौँ उपत्यकामा मात्र दैनिक ८७ हजार लिटर दूध बिक्री हुँदै आएकोमा विहिबार ७६ हजार लिटर बिक्री भएको छ । दूधसँगै दही खपतमा पनि ४० प्रतिशतले कमी आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button