तपाईँ सुन्दै हुनुहुन्छः

धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि कारागार चलान

रुकुम । रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते नबराज बिक सहित ६ जनाको ज्यान जाने गरि भएको घटनाका एक प्रतिबादी धरौटी तिर्न नसकेपछि कारागार चलान भएकी छिन । उनलाई रुकुम जिल्ला अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

शुक्रबार देखि शुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायधिस बिद्याराज पौडेलले बुधबार अबेर यस्तो आदेश गरेका थिए । तर उनले उक्त धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिबादी संगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । ‘अदालतले तोकेको धरौटी रकम नबुझाएपछि धरौटीमा छोड्न आदेश भएका एक प्रतिबादी पनि अन्य प्रतिबादी संगै कारागार चलान भएका छन’ प्रमुख केसीले भने, ‘बाँकी बिषय अब कानुन अनुसार हुन्छ ।’ उनी जाजरकोटका मृतक नबराज बिककी प्रेमिका भनिएकी किशोरीकी आमा हुन । उनको नाम कानुन अनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ (२) राखेको छ । प्रतिबादी डम्बरबहादुर मल्ल सहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश नै भएको थियो । अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र चलान गर्न आदेश भएकालाई राती नै जिल्ला कारागार चलान गरिएको हो ।

आदेशमा अन्य ३ जना अभियुक्तलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको थियो । साधारण तारेखमा छुट्ने प्रतिबादीहरुमा ईन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द रहेका छन । यसअघिको आदेशमा दुई जना नाबालक (नबराजकी पे्रमिका भनिएकी किशोरी र अन्य एक जना आफन्त) लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button