महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ ।
महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको पहिचान, प्रवर्द्धन तथा बजार पहुँच विस्तार गर्ने उद्देश्यले अगाडि बढाइरहेको म उद्यमी ट्रेडमार्क (व्यापारिक चिह्न)सामूहिक चिह्न अभियानका बारेमा जानकारी दिन महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले यो अभियानलाई देशभरका महिला उद्यमीसम्म विस्तार गर्ने बताउनुभएको हो ।
“गुणस्तरीय उत्पादन मात्रै पर्याप्त हुँदैन, उत्पादनले आफ्नो पहिचान निर्माण गर्नुपर्छ, उपभोक्ताको विश्वास जित्नुपर्छ र बजारमा विशिष्ट स्थान हासिल गर्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष श्रेष्ठका अनुसार ‘मेरो पहिचान, मेरो उद्यम’ भन्ने मूल भावनाका साथ अघि बढाइएको ‘म उद्यमी’ अभियानले महिला उद्यमी र उनीहरूका उत्पादनलाई एउटै साझा पहिचानमा जोड्ने छ ।
नेपाली महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवामा स्थानीय सीप, संस्कृति, मौलिकता, परिश्रम र सिर्जनशीलता प्रतिबिम्बित भए पनि धेरै उत्पादनले अझै बजारमा अपेक्षित पहिचान र अवसर पाउन नसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘म उद्यमी’ ट्रेडमार्कले महिला उद्यमीका उत्पादन पहिचान गर्न, उपभोक्ताको विश्वास बढाउन तथा बजारमा तिनको दृश्यता र व्यावसायिक अवसर विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
गत असारमा प्रधानमन्त्रीसँग भएको भेटका क्रममा ‘म उद्यमी’ ट्रेडमार्कको महत्व र यसको पहुँच विस्तार गर्ने विषयमा विशेष चासो व्यक्त भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यसलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
महिला उद्यमी महासङ्घ नेपालले सातै प्रदेश तथा जिल्लास्थित महिला उद्यमी सङ्घमार्फत महिला उद्यमीको क्षमता अभिवृद्धि, नीतिगत पैरवी, वित्तीय तथा बजार पहुँच विस्तार र व्यावसायिक सञ्जाल निर्माणमा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । महिला नेतृत्वमा सञ्चालित उद्यमलाई दिगो, प्रतिस्पर्धी र सफल बनाउनु महासङ्घको प्रमुख उद्देश्य रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा उद्यमी तथा व्यावसायिक प्रोफाइलिङ, ‘म उद्यमी’ अन्तर्गतका उत्पादनको प्रदर्शनी र सञ्चारमाध्यमसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको थियो ।
त्यस्तै, प्रदर्शनीमार्फत उपभोक्ता, वितरक, व्यावसायिक साझेदार तथा सम्भावित बजारलाई महिला उद्यमीका उत्पादनसँग परिचित गराउने उद्देश्य राखिएको छ ।
महिला उद्यमीका उत्पादनलाई बजारसम्म पुर्याउन प्रचारप्रसार र प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले उत्पादन, उद्यमशीलता र सफलताका कथालाई आम नागरिकसम्म पुर्याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
आगामी दिनमा ‘म उद्यमी’ अभियानको पहुँच विस्तार, उद्यमी तथा उत्पादनको व्यवस्थित अभिलेखीकरण, गुणस्तर अभिवृद्धि, ‘ब्रान्डिङ’ तथा ‘प्याकेजिङ’ सुधार र ‘डिजिटल’ उपस्थिति सुदृढीकरणमा काम गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसका लागि प्रदेश तथा जिल्ला सङ्घ, सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गरिने बताउनुभयो ।
‘म उद्यमी’ कुनै सीमित समूहको अभियान नभई हिमाल, पहाड र तराईमा रहेका सबै महिला उद्यमीका उत्पादनलाई साझा राष्ट्रिय पहिचान दिलाउने प्रयास भएको उल्लेख गर्दै उहाँले यसलाई नेपाली उत्पादनको विश्वास, गुणस्तर, मौलिकता र महिला उद्यमशीलताको प्रतीकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो ।
महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठले उक्त अभियानप्रति चासो र विश्वास व्यक्त गर्दै यसको पहुँच देशभर विस्तार गर्न प्रेरणा दिएकामा प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो । द्वितीय उपाध्यक्ष वासन्ती प्रधानले महिला उद्यमीहरूका उत्पादनलाई प्रचारप्रसार गर्न सार्वजनिक निजी संवाद ‘पोडकाष्ट सिरिज’ सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।
त्यस्तै, महासचिव सविता सुवेदीले सामूहिक ‘ट्रेडमार्क प्रोफाइलिङ’बाट महिला उद्यमीको अवस्था, उत्पादनको विविधता, बजार आवश्यकता र व्यावसायिक सम्भावनाबारे तथ्यगत विवरण सङ्कलन हुने अपेक्षा गरिएको जानकारी गराउनुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्