तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरका छ वटा स्थानीय तहमा तीन अर्वभन्दा बढी बजेट सार्वजनिक

उदयपुर । उदयपुरका छ वटा स्थानीय तहले स्वास्थ्य, शिक्षा र कृषिलाई उच्च प्राथमिकतामा राखेर तीन अर्व बढी बजेटसहितको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

आठ स्थानीय तहमध्ये कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिका बाहेकका छ वटाले तीन अर्व २४ करोड २० लाख ५२ हजार नौ सय ४० रुपैयाँ बराबरको प्रस्तावित बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।

असार १० गते योजनासहितको पूर्ण बजेट ल्याउने भने पनि रौतामाई गाउँपालिका र ताप्लि गाउँपालिकाले मात्र बुधवार योजनासहितको पूर्ण बजेट ल्याएका छन् ।

बाँकी त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिकाले प्रस्तावित बजेट सिलिङ्गसहितको नीति तथा कार्यक्रम ल्याएका हुन् ।

कटारी नगरपालिकाले बुधवार ल्याउने भनेको नीति तथा कार्यक्रम नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ अस्वस्थ रहेकाले स्थगन गरिएको बताइएको छ ।

कटारी नपाले असार १६ गते का लागि कार्यक्रम तय गरेको छ ।

त्यस्तै उदयपुरगढी गाउँपालिकाले भौगोलिक विकटताको कारण देखाउँदै समयमा वडा भेला सम्पन्न नभएकाले केही दिनका लागि सारिएको जानकारी दिएको छ ।

उपप्रमुख सानुकुमारी राउतले असार १९ गते भित्रमा योजनासहितको बजेट सार्वजनिक गरिने बताउनुभयो । पूर्ण बजेट ल्याएको रौतामाईले आगामी वर्षका लागि ४६ करोड ९७ लाख खर्च हुने जनाएको छ ।

गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्काले ०७७/०७८ कोरोना नियन्त्रण, कृषि तथा पशुपालन र वैदेशिक रोजगारबाट फर्किएका युवाहरूका लागि लक्षित गरी रोजगार प्रवर्धन कार्यक्रममा बजेट केन्द्रित गरिएको जानकारी दिनुभयो ।

त्यसै गरी ताप्लि गाउँपालिकाले ३४ करोडको बजेट सार्वजनिक गरेको छ ।

जिल्लाको दुर्गम क्षेत्रको लिम्चुङ्बुङ् गाउँपालिकाले ३५ करोड ५९ लाख ५६ हजार बजेट तय गरेको छ ।

अध्यक्ष मेजरकुमार राईले कोरोना नियन्त्रण कोष सञ्चालनमा एक करोड, चालु खर्चमा पाँच करोड तथा कोसी कोरिडोर सडक निर्माण लगायत अन्य पूर्वाधार निर्माणमा १५ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो ।

जिल्लाको सबैभन्दा जेठो त्रियुगा नगरपालिकाले एक अर्व एक करोड सात लाख ९६ हजार छ सय ४९ रुपैयाँ ८८ पैसाको प्रस्तावित बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

“स्वास्थ्य शिक्षित हाम्रो सहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर” भन्ने नारालाई सार्थक बनाउने गरी कार्यक्रम ल्याएको मेयर बलदेव चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै बेलका नगरपालिकाले ७३ करोड ६० लाख ५७ हजार ९१ रुपैयाँ र चौदण्डीगढी नगरपालिकाले ६३ करोड ५५ लाख ४३ हजार दुई सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सबै स्थानीय तहले केन्द्रको परिपत्रलाई आधार मानी कोरोना भाईरस नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका हुन् ।

त्रियुगाका नगर प्रमुख चौधरीले विभिन्न शीर्षकमा रकम बाँडफाँड भएको जानकारी दिँदै चालुतर्फ ६१ करोड आठ लाख ९२ हजार र पुँजीगत खर्च तर्फ २५ करोड १४ लाख २८ हजार रुपैँयाकोे बजेट विनियोजन गरेको बताउनुभयो ।

कुल बजेटको चालुमा करिब २६ प्रतिशत र पुँजीगततर्फ ७४ प्रतिशत बजेट रहेको छ ।

चालु वर्षको बजेट पनि ठुलो परिमाणमा कोरोना नियन्त्रणका लागि खर्च भएको भन्दै नगरप्रमुख चौधरीले हालसम्म महामारी नियन्त्रणमा दुई करोड ५० लाख रुपैयाँ विकास बजेट खर्च भएको र आर्थिक वर्ष ०७७÷०७८ मा पनि यो महामारी रोकथाममा ठुलो धनराशि खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले “उत्पादनको दोस्रो वर्ष, कोरोना विरुद्धको स्वास्थ्य सङ्घर्ष” भन्ने नयाँ नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गरिएको बताउनुभयो ।

उहाँले कोरोना नियन्त्रणको प्रभावकारी कार्य योजना निर्माण र कार्यान्वयन, कृषि उपजको उचित मूल्याङ्कन गरी किसान लक्षित कार्यक्रम सञ्चालन, सबै वडाहरूको जग्गा नापी गर्ने योजना, रोजगार अभिवृद्धि कोष स्थापना र सञ्चालन र सबै वडा कार्यालयहरूको भवन निर्माण लगायतका कार्यक्रमहरू ल्याइएको बताउनुभयो ।

चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले कृषि, शिक्षा, स्वास्थ्य, सडक निर्माणमा जोड दिइएको बताउनुभयो ।

उहाँले बेल्टारमा कोरोना अस्पताल निर्माणका लागि ५० लाख बजेट व्यवस्था गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button