एसियाली खेलकुदमा कांस्य पदक जितेका खेलाडी पुरस्कृत
काठमाडौँ । जापानमा सम्पन्न २०औँ एसियाली खेलकुदमा कांस्य पदक जितेका खेलाडीलाई सरकारले घोषणा गरेको पुरस्कार रकम प्रदान गरेको छ ।

जापानको आइची–नागोयामा भएको प्रतियोगितामा कराँतेका कास्य पदक विजेता तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीका खेलाडीले सरकारले बुधबार पुरस्कार रकम बैङ्क खातामा पठाएको हो ।
कास्य पदक जितेका शेर्पाले तीन लाख ९० हजार रुपैयाँ पाएका छन् । उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै, महिला कबड्डी टोलीका खेलाडीले जनही एक लाख ९५ हजार रुपैयाँ पाएका छन् । टोलीकी प्रशिक्षक पार्वती राईले एक लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्टले ६५ हजार र व्यवस्थापक शरद दर्शनधारीले ६५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
२३ आश्विन २०८३ मा बसेको मन्त्रिपरिषद्को बैठकले एसियाडमा पदक जित्ने महिला कबड्डी तथा कराँते खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोज २१ गते पुरस्कार वितरणसम्बन्धी निर्णय गरेको थियो ।
कराँतेको पुरुष ८४ केजीमाथिको कुमिते स्पर्धामा तेन्जिङले लाओसका खेलाडी भाथाना सायासनलाई ९–१ ले पराजित गर्दै कांस्य पदक जितेका थिए । उनी सेमिफाइनलमा भने इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए ।
तेन्जिङ एसियाली खेलकुदको कराते इतिहासमा नेपालका लागि पदक जित्ने पाँचौँ खेलाडी हुन् । यस्तै, नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रोपटक एसियाडमा कांस्य पदक जितेर इतिहास रचेको थियो । यसअघि सन् २०२३ मा चीनको हाङझावमा भएको १९औँ एसियाडमा पनि नेपालले कांस्य जितेको थियो ।
२०औँ एसियाडमा नेपालले समूह चरणमा थाइल्यान्ड र श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपाल कांस्य पदकमै सीमित बनेको थियो ।








प्रतिक्रिया राख्नुहोस्