चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
रौतहट । चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०ः५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसै सन्दर्भमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बसको ठक्करबाट बालिकाको टाउकोको पछाडि पट्टीको भागमा गम्भीर चोट लागि घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । प्रहरीले घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि नजिकको चन्द्रपुर सरकारी अस्पताल लगेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार ठक्कर दिने बस चालक रौतहट चन्द्रपुर नगरपालिका–४ बस्ने ४५ वर्षीय कान्छा राईसहित बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखिएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले अस्पताल परिसरमा स्थानीय जनताको बाक्लो उपस्थिति रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्