तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा प्रदेश स्तरीय छनोट प्रतियोगिता सम्पन्न

जुम्ला । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लामा आयोजित प्रदेश स्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । 

हुम्ला र डोल्पा बाहेक ८ जिल्लाबाट सहभागिता रहेको प्रदेश स्तरीय छनोट प्रतियोगिता बुधबार सम्पन्न भएको हो । 

तीन दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएको खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।

जुम्ला, कालिकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट कुल ९३ जना खेलाडी भएका थिए । जसमा विभिन्न केजी तर्फ प्रतिस्पर्धा गराउँदा २१ जना प्रथम हुँदै राष्ट्रिय खेलकुदमा छनोट भएका हुन्।  

जसमा पुरुषतर्फ रुकुम पश्चिमका लाल बहादुर परियार, रुकुम पश्चिमकै कमल खड्का, कालिकोटका विरज बम, सुर्खेतका जीवन सार्की, सल्यानमा योगेन्द्र शाह, सल्यानकै लिलधर नेपाली, रुकुम पश्चिमका खड्क विक, जुम्लाका नरेन्द्र रावत र रुकुम पश्चिमका रमेश गुरुङ छनोट भएका हुन् । 

त्यस्तै महिला तर्फ जुम्लाकी निशा बुढा, सुर्खेतकी दीप्ति नेपाली, जुम्लाकी सरला खत्री, सुर्खेतकी देविसरा सुनार, जुम्लाकी ज्ञानिता कुलाल, सुर्खेतकी बिविका बस्नेत, पूजा गाहा, मोनिमा दर्लामी र पूजा खत्री लगायत पुम्से महिला पुरुष तर्फका लागि महिला पुरुष २१ जना खेलाडी राष्ट्रिय खेलका लागि छनोट भएका छन् । 

छनोट भएका खेलाडीलाई दशै लगत्तै प्रदेश सरकारले बन्द प्रशिक्षणमा सहभागी गराउने छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चायले उत्कृष्ट २१ जना तेक्वान्दो खेलाडीले दशौँ राष्ट्रियमा प्रदेशको नाम राख्ने गरी खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

छनोट प्रतियोगितामा कर्णाली प्रदेश तेक्वान्दो संघ अन्तर्राष्ट्रिय रेफ्री, भीमलाल विक, कर्णाली प्रदेशका अध्यक्ष, कोषाध्यक्ष,सदस्य, प्रदेशका प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button