तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल सञ्चार ग्रामबाट “पशुपालन र जनजीवन” प्रसारण गर्ने सम्झौता  

विराटनगर । रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरबिच रेडियो कार्यक्रम “पशुपालन र जनजीवन” तथा सार्वजनिक हितको सूचना प्रसारणका लागि आज सम्झौता भएको छ । 

निर्देशनालयका महत्वपूर्ण गतिविधि, योजना तथा कार्यक्रमहरू, उन्नत पशुपन्छी पालन प्रविधि, पशुपन्छीमा लाग्ने रोगव्याधीको उपचार तथा व्यवस्थापनका विषयमा विशेषज्ञहरुसंगको कुराकानी लगायतका विषय समेटेर कार्यक्रम उत्पादन गर्ने सम्झौता भएको रेडियो नेपालका कार्यक्रम अधिकृत नयराज नेपालले बताउनुभयो ।   

व्यावसायिक पशुपन्छी तथा मत्स्यपालनको विकास र विभिन्न रोग तथा महामारीबाट पशुधनमा हुने क्षति न्युनिकरण गर्न कृषकहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले रेडियो कार्यक्रम प्रसारण गर्न लागिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.सुशील कुमार अधिकारीले जानकारी दिनुभयो । 

सम्झौता अनुसार “पशुपालन र जनजीवन”  कार्यक्रम रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम १०३ मेगाहर्ज विराटनगरबाट  प्रत्येक महिनाको दोस्रो र चौथो सोमबार साँझ ५ः३० बजे देखि १५ मिनेटसम्म  प्रसारण हुने छ । सो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट एफ एम ९८,१०० र १०३ मेगाहर्जमा दोस्रो र चौथो मङ्गलवार ५ः१५ बजे पुन प्रसारण हुनेछ । यस्तै पशुपन्छी पालन सम्बन्धी जनचेतनामूलक सन्देश नेपाली सहित राई बान्तवा, लिम्बु, पूर्वेली थारु र राजवंशी भाषामा उत्पादन गरी प्रसारण गरिने भएको छ । 

सम्झौतामा निर्देशनालयका तर्फबाट निर्देशक डा. सुशील कुमार अधिकारी, वरिष्ठ पशु विकास अधिकृत डा.गङ्गाराम यादव, पशु चिकित्सक विनोदकुमार साह र सञ्चार ग्रामका तर्फबाट कार्यालय प्रमुख बलराम चौधरी, कार्यक्रम अधिकृत नयराज नेपाल र वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालले हस्ताक्षर गर्नुभयो । 

नेपाली जनजीवन, संस्कृति, अर्थतन्त्र, खाद्य सुरक्षा र पोषण सुधारको अभिन्न अङ्गको रुपमा रहेको पशुपालनको विकास र पशुधनको रक्षामा रेडियो कार्यक्रम र सचेतनामूलक सन्देशले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button