बाढी प्रभावित क्षेत्रको आर्थिक तथा व्यापारिक पुनरुत्थानका लागि राज्य,बैङ्किङ क्षेत्रको सहयोग आवश्यक
काठमाडौँ । रसुवा भोटेकोशी बाढीले प्रभावित उद्योग, ब्यापार व्यवसायहरू पुनर्स्थापना तथा पुनरुत्थानका लागि राज्य, बैक र वित्तीय क्षेत्रको सहयोग र बलियो साथ समर्थन आवश्यक रहेकोमा विज्ञहरुले जोड दिनु भएको छ।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा काठमाडौँमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको पाँचौँ सत्र अन्तर्गत भोटेकोशी बाढीपश्चात् व्यवसायको पुनर्स्थापना र पुनर्निर्माण विषयमाथि छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ,सामाजिक तथा विपद व्यवस्थापन समितिका सभापति राजकुमार कार्कीले यतिबेला घरबार गुमाएका बाढी प्रभावित व्यवसायीहरूको मनोबल उच्च बनाइनु पर्नेमा जोड दिनु भयो१ उहाँले प्रभावितहरूको व्यापारिक, आर्थिक गतिविधि पुनर्स्थापनाका लागि राज्य, बैक तथा वित्तीय सङ्घसस्थाहरुले साथ सहयोग देखाउन जरुरी रहेको बताउनुभयो ।
यस्तै वाणिज्य तथा वित्तीय क्षेत्रका विज्ञ तथा नेदरल्यान्ड स्थित ग्लोबल अलाइन्स फर ब्याङ्किङ अन भ्यालुजका एसिया प्रशान्त क्षेत्रीय प्रतिनिधि उपेन्द्रप्रसाद पौडेलले ब्यबसायीहरुको लगन र भावनालाई सहयोग पुग्ने गरी कर्जा प्रवाह वा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले कर्जा असुल गर्ने कार्य केहिसमयलाइ थाती राखेर उद्योग, व्यवसाय पुनरुत्थानका लागि बैङ्किङ क्षेत्रको सवेदनशिलता सहितको सहयोग आवश्यक रहेको औँल्याउनुभयो।
सो अवसरमा नुवाकोट जिल्ला बिदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटीले हालको वस्तुस्थिति बारे जानकारी गराउनुहुँदै भदौ १० गतेको बाढी पश्चात् त्यस क्षेत्रमा दैनिक आवश्यक वस्तुको आपूर्तिमा हालसम्म कठिनाइ रहेको बताउनुभयो ।
बाढीले स्थानीय पुल,यातायात जस्ता बगाउदा अझैपनि यातायात सम्पर्क जोडिन नसकेको अवस्थामा रसुवा र नुवाकोट जिल्लाका प्रभावित नागरिकहरूले कठिनाइ भोग्नुपरेको उल्लेख गर्नुभयो ।
उपप्रमुख बोगटीले सदियौँ देखि आर्थिक, कृषि र व्यापारिक केन्द्रका रुपमा रहेका बेत्रावती ,त्रिशूली बजार, देबिघाट ढुङ्गे क्षेत्रमा बाढीले बढी क्षति गर्दा नागरिकको जीवनयापनको बाटो नै गुमेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्