महँगीले खर्चिलो बन्दै दसैँ
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ ।
दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँ सडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडक लगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ ।

गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी मुलुक चीनतर्फको दुई वटा नाका ठप्प भएकाले पनि अघिल्लो वर्षको तुलनामा बजारमा खासगरी लत्ताकपडाको मूल्य केही बढेको हुनसक्ने उपभोक्ताको अनुमान छ । हुन त दैनिक उपभोग्य वस्तुसहित खाद्यान्नको मूल्य पनि पछिल्लो समय निकै बढेको उपभोक्ताको गुनासो छ ।
काठमाडौँ महानगर पालिका–३२ का शालिकचन्द्र शर्माले महँगी बढेसँगै चाडपर्व मनाउन पनि अप्ठ्यारो हुँदै गएको गुनासो गर्नुभयो । “जिरा मसिनो चामलको भाउ एक बोरामा नै रु ३०० बढेको छ”, उहाँले भन्नुभयो, “दसैँमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि ४०० ले बढेको छ । न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ ।”
शालिकचन्द्र मात्रै होइन, तीनकुनेकी स्मिता खत्री पनि यसपालिको दसैँमा आफ्ना परिवारका सदस्यलाई एक जोर नयाँ लुगा फेरिदिने सोचमा हुनुहुन्छ । तर, लत्ताकपडाको भाउ बढे पनि जेनतेन तीन सन्तानलाई नयाँ लुगा किनमेल गरिसकेको बताउनुभयो । “दसैँमा एकसरो लुगा त फेरिदिनुपर्यो नी”, उहाँले भन्नुभयो, “सीमित आयस्रोत हुनेलाई दसैँ त दशा जस्तै हुने के गर्नु नमनाएर पनि नहुने ।”
आम्दानीको स्रोत कम हुनेलाई दसैँ मनाउने विषय धेरै सास्ती हुने गरेको सर्वसाधारण उपभोक्ताको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालिको दसैँमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सरसमानको भाउ निकै वृद्धि भएको बताउनुभयो । “बजारमा सबै खालको खाद्यान्नमा भाउ बढेको छ”, उहाँले भन्नुभयो, “अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ ।”
अध्यक्ष तिमिल्सिना नियमित रुपमा बजार अनुगमन गरी मूल्यवृद्धिलाई नियन्त्रण गर्नेतर्फ सरकारका संयन्त्र अग्रसर हुनुपर्ने बताउनुहुन्छ । “सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर नै अघि बढ्नुपर्ने जरुरी देखिएको छ”, उहाँले भन्नुभयो ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य लाइफलाइनका रुपमा रहेका रसुवा र तातोपानीका नाका अवरुद्ध हुँदा वस्तु तथा समान ल्याउन असहज भइरहेको बताउनुभयो ।
“चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर पारेको छ”, उहाँले भन्नुभयो, “चीनतर्फबाट दसैँलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामा रोकिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले विभागले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिँदै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीको अनुगमन गर्दै आइरहेका छौँ । अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई पनि आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ ।”
महानिर्देशक शाक्यले कुनै पनि वस्तु तथा समान तोकिएको मूल्यअनुसार बिक्री वितरण गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्