तपाईँ सुन्दै हुनुहुन्छः

बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगितामा न्यू डाँफे (बी) र जय किसान विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा मङ्गलवार भएका खेलमा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र जय किसान स्पोर्ट्स क्लब विजयी भएका छन् ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा न्यू डाँफे (बी) ले एनके स्पोर्ट्स क्लबलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । न्यू डाँफेको जितमा विपिन थापाले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरे भने निराजन शाहीले एक गोल थपे ।

त्यस्तै, मङ्गलवारकै अर्को खेलमा जय किसान स्पोर्ट्स क्लबले नवज्योति युवा स्पोर्ट्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । जय किसनको जितमा अतिस सुनारले दुई गोल गरे भने सुदीप विकले एक गोल गरे ।

बुधबार पनि प्रतियोगिता अन्तर्गत दुई खेल हुने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए । बुधवारको पहिलो खेलमा चन्द्र ज्योति युवा क्लब र ब्रदर्स एफसी आमनेसामने हुनेछन् । दोस्रो खेलमा एफसी सिमलघारी र अकसेरा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

दसैँ तथा तिहारको अवसर पारेर असोज २५ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा बाँके जिल्लाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा १५ टोली सहभागी रहेको क्लबका सचिव तेजेन्द्र योगीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा नेपालगन्ज न्युरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ । प्रतियोगिताको पुरस्कार राशि क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लीलबहादुर थापाले सौजन्य गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button