तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित राजदूत सुनारमाथि परेको उजुरीसँग सम्बन्धित कागजपत्र मगाइने 

काठमाडौँ । संघीय संसद्को संयुक्त समिति, संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई गरेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरन जंग थापा र बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको संसदीय सुनुवाई गरेको हो । 

बैठकमा कार्ययोजना पेश गर्दै भारतका लागि प्रस्तावित राजदूत पाण्डेले दुई देशबीचको कनेक्टिभिटीलाई प्राथमिकता दिने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय पर्यटक बढाउने, दुवै देशका विज्ञहरू सम्मिलित सीमा विवाद समाधान उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिने प्रतिबद्धता जनाउँदै सरकारको परराष्ट्र नीति र निर्देशन छिटोछरितो रुपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।  

त्यसैगरी जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले नेपाल चीनको सीमा तथा पारवहन व्यवस्थालाई बलियो बनाउने, विपद उद्यमशीलतामा सहकार्य प्रवर्द्धन गर्ने र नेपालको हिमाली विपद्हरूको अध्ययन अनुसन्धानमा प्राविधिक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

बैठकमा अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले सरकारले दिएको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने प्रतिबद्धता जनाउँदै अमेरिकामा रहेका साँढे दुई लाख भन्दा बढी नेपाली डायस्पोराको क्षमता, स्रोत र प्रविधिलाई नेपालको हितमा प्रयोग गर्न प्रयास गरिने बताउनुभयो । 

त्यसैगरी बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराले दुई देशबीचको आर्थिक कूटनीतिलाई बलियो बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि परेको उजुरीका सम्बन्धमा सम्बन्धित निकायबाट थप कागजपत्र माग गर्ने निर्णय गरेको छ । 

सुनारमाथि  जर्मनीले  डिपोट गरेको, विवाहेत्तर सम्बन्ध रहेको र महिलामाथि हिंसा गरेको  भनी परेको उजुरीका आधारमा ललितपुर प्रहरी कार्यालय  र परराष्ट्र मन्त्रालयसँग  यस सम्बन्धि थप विवरण माग गर्ने निर्णय गरेको हो । 

यसअघि समितिले उजुरीकर्तासँग गोप्य छलफल गरेको थियो । 

प्रस्तावित न्यायाधीशमाथि उजुरी आह्वान गर्ने निर्णय 

आजै संसदीय सुनाइ समितिले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि न्याय परिषद्बाट सिफारिस डा.रत्नबहादुर बाग चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । 

समितिका सभापति बोधनारायण श्रेष्ठले सुनुवाइको कार्यविधि अनुसार १० दिनको समयसीमा दिएर सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभयो । 

गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button