गोरखामा हिमपहिरो र बुढीगण्डकी बाढी : ठूलो क्षति, सेनाको हेलिकोप्टरबाट उद्धार तीव्र
गोरखा । गोरखाको चुमनुब्रि गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा पर्ने सिरिङ्गे हिमालमा हिमपहिरो जाँदा उइनगुलुङ खोला थुनिन गई बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न ठाउँमा ठूलो धनजनको क्षति पुर्याएको छ ।

प्रहरी चौकी चुम्चेतका अनुसार मिति २०८३ साल असोज २५ गते बिहान ०५ः३० बजेदेखि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो तहसनहस मच्चाएको छ भने सुरक्षाकर्मी र नेपाली सेनाको टोलीद्वारा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ ।
क्षति तथा प्रभावित क्षेत्रको विवरण
झोलुङ्गे तथा पक्की पुलहरूमा क्षति : चुमनुब्रि गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल, र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पक्की पुल बगाएको छ । त्यस्तै, आरुघाट–९ नयाँ पुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको एक भाग पनि बगाएको छ ।
घर तथा संरचनाहरूमा क्षति : सिर्दिबासका रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने माछी खोलाको तल्लो बस्तीमा ५–७ वटा घर र टहराहरूमा बाढी पसेको छ । पावर हाउसमा क्षतिः चुमनुब्रि–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र वरपरका ७–८ वटा घर बगाएको छ । सल्लेरीमा मात्रै २०–२२ घरहरू उच्च जोखिममा रहेका छन् । आरुघाट–३ सोतीमा करिब १४–१५ वटा घरमा बाढी पसेको छ ।
उद्धार तथा सुरक्षा परिचालन अपडेट
सेनाको हेलिकोप्टर परिचालन: धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका १८ जना नेपाली नागरिक (स्थानीय र हाइड्रोमा कार्यरत मजदुर) लाई नेपाली सेनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको छ । हालसम्म उद्धारका लागि नेपाली सेनाका ४ वटा हेलिकोप्टर परिचालन भइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा, नेपाली सेनाको रुद्र ध्वज गण नाम्जाली डाँडा ब्यारेकका प्रमुख सेनानी विरोध रिजालको कमाण्डमा ३० जना, जिप्रका गोरखाका प्र.उ. अनिल कुमार खड्काको कमाण्डमा ५० जना, र सशस्त्र प्रहरी बल नं. २९ गुल्म गोरखाबाट ९ जनाको टोली उद्धार सामग्रीसहित आरुघाटतर्फ परिचालन भई राहत तथा उद्धारमा खटिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्