स्थानीय बीउ जोगाउने जिन बैङ्क धनकुटा नगरपालिकालाई हस्तान्तरण
धनकुटा । परम्परागत, रैथाने र स्थानीय बीउ मासिने जोखिम बढेपछि धनकुटामा स्थापना गरिएको ‘जिन बैङ्क’ धनकुटा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

हुसाडेक नेपाल धनकुटाले धनकुटामा परियोजना समापन तथा प्रगति समीक्षा कार्यक्रम आयोजना संस्थाका अध्यक्ष खेमराज थापाले धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख तामाङले रैथाने बिउ मासिँदै गएको अवस्थामा यो महत्त्वपूर्ण बन्ने बताउनुभयो ।
धनकुटा नगरपालिका परिसरमा हुसाडेक नेपालले धनकुटा नगरपालिका र युएनडिपीसँगको सहकार्यमा ‘जिन बैङ्क’ स्थापना गरिएको छ । संस्थाले गत चैतदेखि स्थानीय रुपमा खेती हुँदै आएका तर पछिल्लो समय खेतीको चलनबाट हराउन लागेका धान, मकै, गहुँ, कोदो, दलहन, तेलहन तथा विभिन्न तरकारी बालीका रैथाने बीउ सङ्कलनको काम गरिरहेको छ । रैथाने तथा परम्परागत बाली जोगाउन नगरपालिका र युएनडिपीसँगको सहकार्यमा जिन बैङ्क स्थापना गरिएको हुसाडेक नेपाल धनकुटाका अध्यक्ष खेमराज थापाले जानकारी दिनुभयो ।
जिन बैंकका लागि हालसम्म बेलगुटी, बासमती, तौली लगायतका रैथाने धानका जातसँगै फर्सी, सिमी, बोडी, घोरेमास, गहत, फिलुङ्गे, सौंफ, तोरी, चमसुर, गहुँ, मकै, आलस, रातो तथा कालो दाल, भटमास, घिरौँला, काक्रा, सेतो–रातो तिल, बकुल्ला, रातो–सेतो मकै, माझी बोडी र विभिन्न रैथाने कोदो लगायत २५ भन्दा बढी प्रजातिका करिब ७० जातका बीउ सङ्कलन भइसकेको कार्यालयले जनाएको छ ।
त्यस्तै सो कार्यक्रममा राइसे परियोजना समापन भएको समेत जनाइएको छ । सो परियोजना मार्फत करिब ४६ हजार डलरमा धनकुटा नगरपालिका क्षेत्रमा सोयल सिमेन्ट प्रविधिका पोखरी, जिन बैक, माछापालन, समुदायमा आधारित कृषि पर्यटन, भुजल पुनर्भरण तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणको क्षेत्रमा काम गरिएको परियोजना प्रमुख नवीन भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्