दशौं राष्ट्रिय खेलकुद लक्षित होटल तथा रेष्टुरेन्टले मूल्यसूची अनिवार्य राख्नुपर्ने

सुर्खेत । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूले अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने व्यवस्था गरिएको छ ।
आज सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको अध्यक्षतामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८३ को अवसरमा सुर्खेत जिल्लामा आउने खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, अतिथि एवं खेलप्रेमीहरुलाई गुणस्तरीय, स्वच्छ, सुरक्षित र सहज सेवा उपलब्ध गराउने उद्देश्यले होटल व्यवसायी संघ तथा सम्बन्धित सरोकारवालाहरुसँग होटल व्यवस्थापन सम्बन्धी बैठकले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूले अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने व्यवस्था गरेको हो ।
बैठकमा प्रतियोगितालाई लक्षित गरी होटल व्यवसायीले उपलब्ध गराउने कोठा, खाना तथा अन्य सेवाको खिलायती, न्यूनतम र पारदर्शी दररेट/मूल्यसूची तयार गरी सेवाग्राहीले सहजै देख सक्ने स्थानमा अनिवार्य रुपमा टाँस्ने र सोहीबमोजिम सेवा तथा सुविधा उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै होटलमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीप्रति शिष्ट, सभ्य, मर्यादित र सहयोगी व्यवहार गर्ने तथा खेलाडी, प्रशिक्षक, अतिथि एवं अन्य सेवाग्राहीलाई कुनै पनि प्रकारको विभेद नगरी छिटो, छरितो र गुनासोरहित सेवा प्रवाह गर्ने होटल व्यवसायीहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै होटल तथा रेस्टुरेन्टमा बिक्री वितरण गरिने खाद्यवस्तुको गुणस्तर, खाद्य स्वच्छता र खाद्य सुरक्षामा विशेष ध्यान दिई ताजा, स्वच्छ, पोषणयुक्त तथा हाइजेनिक खाना मात्र तयार गरी बिक्री वितरण गर्ने सहमति भएको छ । बासी, सडेगलेका, म्याद गुज्रिएका तथा अखाद्य वस्तु प्रयोग गरेको पाइएमा कानून अनुसार हदैसम्मको कारबाही हुने बताइएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर होटल तथा रेस्टुरेन्टहरुको सेवा, मूल्यसूची, खाद्य स्वच्छता, सरसफाइ तथा समग्र व्यवस्थापनको सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा निरीक्षण नियमित गरिने भएको छ । बैठकमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी सापकोटाले बहुप्रतिक्षित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘महाकुम्भ’ को सन्देश राष्ट्रिय भएपनि यसलाई सुर्खेतबाटै अन्तर्राष्ट्रियकरण गर्न आग्रह गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्