तपाईँ सुन्दै हुनुहुन्छः

असहमति र विचारका लागि खुला ठाउँ आवश्यक : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दल भित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ। संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताउनुभयो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौँको एउटा चौर मात्रै नभएको बताउनुभयो । नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उहाँले स्मरण गर्नुभयो ।

‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौँको चौर मात्रै होइन,’ थापाले भन्नुभयो , ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’

जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनुभयो । ‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उहाँले भन्नुभयो।

थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उहाँको भनाइ थियो। ‘संसद् अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उहाँले भन्नुभयो।

सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताउनुभयो । संसद् जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उहाँको भनाइ थियो।

थापाले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म खुला संवादका थलो आवश्यक रहेको बताउनुभयो । नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनुपर्ने उहाँको धारणा थियो।

पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न उठाउँदा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उहाँले भन्नुभयो ।

उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताउनुभयो । लोकतन्त्र बाहिर मात्रै खोजेर नहुने भन्दै थापाले राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने धारणा राख्नुभयो । ‘संसद् बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भन्नुभयो ।

१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको उहाँको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button