कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : सभापति लामिछाने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताउनुभएको छ।
नेपाली काँग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै सभापति लामिछानेले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताउनुभयो । उहाँले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसङ्गसँग जोडेर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नुभयो । “आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई”, सभापति लामिछानेले भन्नुभयो ।
उहाँले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको ठूलो राजनीतिक पुँजीका रूपमा व्याख्या गर्नुभयो । काँग्रेसले नेपालको लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई आफूले सधैँ सम्मान गर्ने उहाँको भनाइ थियो। “नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोर पनि इतिहास हो”, उहाँले भन्नुभयो, “कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ।”
उहाँले काँग्रेसले विगतमा खेलेको भूमिका र हासिल गरेका उपलब्धिसँगै त्यसका कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्ने बताउनुभयो। इतिहासलाई केवल गौरव गर्ने विषयका रूपमा नभई आगामी राजनीतिक यात्राका लागि सिकाइका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।
सभापति लामिछानेले आफू पनि काँग्रेसमा हुन सक्ने सम्भावनाको प्रसङ्ग समेत सुनाउनुभयो । काँग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र राजनीतिक अवसर दिएको भए आफू काँग्रेसमै हुन सक्ने सङ्केत गर्दै उहाँले पार्टीहरूले नयाँ पुस्ताको आकाङ्क्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त नहुने भन्दै सभापति लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको बताउनुभयो। आफूहरूले काम गर्न नसके जनताले निर्वाचनमार्फत निर्णय गर्न सक्ने भन्दै उहाँले जनताको मतको सम्मान गर्नुपर्ने बताउनुभयो ।
मुलुकको सवालमा भने राजनीतिक दल र झन्डाको भिन्नता गौण हुने उहाँको भनाइ थियो। राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो । पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन”, उहाँले भन्नुभयो ।
सभापति लामिछानेले वर्तमान सरकार कमजोर भएको चर्चा हुने गरेको भन्दै सरकार नढल्ने दाबी गर्नुभयो । सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने भन्दै उहाँले निर्वाचनलाई त्यसको आधारका रूपमा प्रस्तुत गर्नुभयो । “सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्” उहाँले भन्नुभयो ।
लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने भन्दै सभापति लामिछानेले लोकतन्त्र खतरामा परे जनताले त्यसको रक्षा गर्ने बताउनुभयो । आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उहाँको भनाइ थियो। “लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्”, लामिछानेले भन्नुभयो, “हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ।”
निर्वाचनबाट जनताले दिएको मतलाई भ्रमित पारेर जनताको निर्णयको अपमान नगर्न उहाँले आग्रह गर्नुभयो। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई डाँडो कटाउन सक्ने भन्दै त्यसलाई स्वीकार गर्ने उहाँले बताउनुभयो । “हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ”, उहाँले भन्नुभयो ।
सभापति लामिछानेले बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । लोकतन्त्रलाई तलमाथि पार्ने कुनै प्रयास स्वीकार्य नहुने भन्दै उहाँले अहिलेको राजनीतिक परिवर्तनको रक्षा सबैको जिम्मेवारी भएको बताउनुभयो ।
कांग्रेसको १५औँ महाधिवेशनमा गगनकुमार थापा सभापतिको नेतृत्वमा आएको नयाँ चरणलाई उल्लेख गर्दै सभापति लामिछानेले काँग्रेसले आफ्नो इतिहासबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो। लामो राजनीतिक इतिहास कांग्रेसको शक्ति भए पनि त्यसलाई नयाँ पुस्ताको चाहना, बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षासँग जोडेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।








प्रतिक्रिया राख्नुहोस्