तपाईँ सुन्दै हुनुहुन्छः

जब कथा रंगमञ्चमा बोल्छ !

देश चलाउने रसाकसी हुने सिंहदरबारभित्र ‘गीत–संगीत’ को एउटा मन्दिर पनि छ। त्यो मन्दिर वरपर मन्त्रालयहरू छन्। वा भनौँ, मन्त्रालयको घनाजंगलबीच यो मन्दिर छ। ऊबेला दिग्गज कलाकारहरूको स्वरले पुजिने र गुञ्जिने थलो। तिनले यहाँ गीत मात्र गाएनन्, संस्कृतिको जगेर्ना गरे। रैथाने भाका टिपे, जोगाए। लोकभाका खोजे र यहाँ सजाए। ती अझै संग्रहमा छन्। क्यासेटमा स्वरसुबद्ध छन्। ती सर्जक/कलाकार, जसको योगदान अतुलनीय र अविस्मरणीय छ।

यस्तो पवित्र मन्दिरभित्र झन्डै ३० वर्षअघि एउटा जवान केटो आइपुग्छ। नाटकमा रुचि राख्ने त्यो केटोले दर्जनौँ नाटकमा स्वर भर्छ। अभिनय गर्छ। स्क्रिप्ट लेख्छ। आफ्नै स्वरको सम्पादन गर्छ। र रेडियोमार्फत नेपालभरका श्रोतासम्म पुग्छ।

यो हुटहुटी यतिमै सकिँदैन। उसलाई अझ गहकिला कथा भन्नु छ। स्वरले साथ नदिएको भए कुरा अर्कै हुन्थ्यो। उनको यात्रा सम्भवतः अन्तै मोडिन्थ्यो। तर, त्यसो भएन।

उनले रेडियोमा प्रेमिल कथा वाचे। उनको त्यो वाचन श्रोताले मन पराए। कथा भन्ने शैली र स्वरका धेरै प्रशंसक बने। धेरैपछि उनी रहरले वा बाध्यताले टेलिभिजनतिर उछिट्टिए र त्यतै हराए। त्यहाँ पनि उनलाई कथा भन्नु नै थियो, तर फरक शैलीमा। त्यो कार्यक्रम प्रस्तोताको भूमिका थियो। कार्यक्रम निर्माताको।

उनी थिए, दीपक समीर।

एक वर्षअघि उनको एउटा कथासंग्रह आयो। शीर्षक थियो, ‘मुना–मदनको डिभोर्स पार्टी’। त्यो संग्रहमा सामाजिक मनोविज्ञानका विभिन्न कथा समेटिएका थिए। आधुनिक समाजमा ‘मुना–मदनको डिभोर्स पार्टी’ को बिम्बात्मक चित्रण थियो। त्यसले समाजमा रहेका भुइँमान्छेका कथा बुनेको थियो।

‘मुनामदनको अमर प्रेम पढेर हुर्केको म, तर अचेल समाजमा आममान्छेको प्रेम त्यस्तो छ?’ उनको जिज्ञासा र प्रश्न छ। उनी त्यो मनोविज्ञानभित्रको दर्दनाक उपकथा खोतल्न चाहन्छन्।

उनको बुझाइ छ, वर्तमान समय समस्याको चाङभित्र गुजुल्टिएको छ। त्यो चाङमा आ–आफ्ना सपनाको रंग खोज्न मान्छे असरल्ल तर व्यस्त छ। ऊ भौँतारिँदै देशदेखि परदेशसम्म पुगेको छ। सामाजिक मनोविज्ञानको जटिलतामा मान्छे अन्योलमा छ।

आर्थिक झटारोको डर एकातिर छ भने रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको पहाडले उसलाई निस्सासिने गरी थिचेको छ। आवश्यकता, रहर, आकांक्षा र सपनाको रंग खोज्नुपर्ने बाध्यता त छँदैछ।

मान्छे हुनु भनेको दुःखको महाभारतसँग जुधेर सुखको खोजीमा निस्कने एउटा अविराम यात्रा पो रहेछ। त्यो यात्रामा मान्छेको ‘उठबस’ को सकस दर्दनाक छ।

त्यही दर्दनाक कथाहरूमध्ये एउटा कथा संग्रहमा छ, ‘आहत उजेलीहरू !’ वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता र त्यसले निम्त्याउने दुर्घटनाको दकस छ। ती उजेलीहरू, जसले घाम–जुनको उज्यालो जिन्दगीमा देख्न पाएका छैनन्। दुःखको पहाडमै उनीहरू हराएका छन्।

यही कथा रंगमञ्चमा स्वरसुबद्ध हुँदैछ—संगीत र अभिनयका साथ। कथालयको पहिलो शृङ्खला, तर कोसेलीका रूपमा।


त्यो भेट !

रेडियो नेपालको दक्षिणतिर एउटा समीको रूख छ। यो निकै प्रसिद्ध छ। सायद ऊबेला ‘यो समीको रूख’ त थिएन, तर चौतारो भने पक्कै थियो ! यतैकतै थियो होला।

त्यो चौतारामा रेडियो नेपालले जन्माएका दिग्गज गीत–संगीतका महारथी सायद गफिन्थे होला। त्यही चौतारीमा अडेस लागेर भाका टिप्थे होला। शब्द बुन्थे होला। गीतको लयमा झुम्थे होला।

हामीले अहिले सुन्ने जुनसुकै कालजयी गीतका सर्जक यही स्वामीको रूखवरपर कुनै दिन ‘चिया’ को चुस्कीमा हराएका थिए होलान् ?

हो, म कुरा गर्दै छु, त्यही समीको रूख र चौतारोको।

तीन महिनाअघिको कुरा हो। स्वामीको बोटमुनि उनै समीरलाई पहिलोपटक भेटेँ। उनी चियाको चुस्कीसँगै सपना सुनाउन त्यहाँ देखा परेका थिए। उनको दिमागमा चलमलाइरहेको थियो—कथालयको सपना।

‘संगीत र अभिनयका साथ कथा मञ्चन गर्ने सपना। के टिमले पछ्याउला त्यो मेरो सपना?’

दुई कप कफीको वासना समीको रूख उक्लँदै छ। म चुपचाप छु। त्यो एक शरदीय बिहान। दीपक समीरका आँखा। र, आँखाले भाकेका ती तमाम सपना।

म मनमनै उनको कुरा टिप्दै थिएँ।

उनको कुरा सुन्दै गर्दा मलाई लाग्यो, उनी कथा भन्न जन्मिएका मान्छे हुन्। यस्तै मान्छेले त हो भुइँमान्छेका कथा सबैको कानसम्म पुर्‍याइदिने। नत्र त कसरी थाहा पाउँछौँ हामीले एकअर्काको कथा ?

कथा जसको भए पनि अन्ततः कुनै न कुनै तहमा पात्र हामी नै हौँ। ती कथा/उपकथा हाम्रै वरपरका हुन्, हाम्रै हुन्। हामीले भोगेका। आफ्नै आँखाले देखेका। र, पुर्खादेखि नवपुस्तासम्मले चेतेका/दुःखेका।

उनको काम त्यो कथा उत्खनन गर्ने हो। हामीसम्म पुर्‍याउन स्वर भर्ने हो। र, ती कथाले हाम्रो दैनिक जीवनमा के अर्थ राख्छन् ? त्यो खोज्नु हो।

झन् कथाले उप्काइदिएका विषयमाथि चिन्तन गर्न, सोच्न, विमर्श गर्न मान्छेलाई बाध्य पारेको छ। सायद प्रश्न गर्न ? आफैँसँग ? समाजसँग ? प्रणालीसँग ? व्यवस्थासँग ? सामाजिक परिस्थितिसँग ? नियतिसँग ? र, बाध्यतासँग ?

प्रश्न गर्नु भनेकै मान्छेले बाँचेको सामाजिक मनोविज्ञानसँग एक हिसाबले कुस्ती खेल्नु हो।

दीपक समीरको ‘कुस्ती’ खेल्ने सपनासँग मेरो कुनै गुनासो छैन। त्यसैले त मैले उहाँलाई त्यस दिन शुभेच्छाको एक शब्द टक्र्याएको थिएँ—बधाई छ !


र, अन्त्यमा…!

‘तपाईं आउनुपर्छ नि !’

‘तपाईंको कथा सुन्न को आउँदैनन् होला ?’ मैले मनमनै जवाफ फर्काएको थिएँ त्यस दिन।

तर, त्यो दिन छिट्टै उपहार बोकेर आइपुगेको छ।

त्यो दिन उनका लागि विशेष छ। धेरैपछि सस्वर कथा वाचनमा फर्किएका छन् उनी, तर फरक शैलीमा। कथालयको पहिलो शृङ्खलामा ‘आहत उजेलीहरू !’ वाचन गर्दै छन् उनै दीपक समीर।

यो कथा उनको प्रकाशित संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ मा समावेश छ। दीपक समीरको आवाजमा संगीत र अभिनयका साथ रंगमञ्चको प्रस्तुति झन् विशेष हुनेछ।

यो कथाले वैदेशिक रोजगारीले निम्त्याउने दुःखको महाभारत र त्यसका अनेक ‘साइड इफेक्ट’ बाट निम्तिने पीडाको स्पर्श शब्दद्वारा दर्शकले प्रत्यक्ष अनुभूति गर्नेछन्।

कार्यक्रमको घुम्टो सोता आचार्यले उघार्नेछिन् भने कथाको बीच–बीचमा सुनिता कार्कीले गीतका भाकामा स्वर भर्नेछिन्। कथालाई मसिनो बनाउन बाँसुरीको धुन डा. निरञ्जन भण्डारीले मिसाउनेछन्। कथालाई अझ कसिलो बनाउन शिल्पी थिएटरका नाट्यकर्मीको उम्दा अभिनय—त्यसको झन् के कुरा !

कथा अब रेडियोको आवाजमा मात्र सीमित रहनेछैन। त्यो रंगमञ्चमा बोल्नेछ। पात्रहरू हाम्रै वरपरका हुनेछन्। पीडा हाम्रै समाजको हुनेछ। र, प्रश्न पनि सायद हाम्रै हुनेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button