तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, सुदृढीकरणमा काँग्रेसले नेतृत्व गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन काँग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताउनुभयो । “अहिलेको समस्या संविधान र तपाईँहरूले ल्याएको गणतान्त्रिक व्यवस्थामा समेत छ। यसमा पनि सोच्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष लिङ्देनले लोकतन्त्रको विकल्प खोज्ने नभई लोकतान्त्रिक व्यवस्थाभित्र देखिएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । राजनीतिक दलहरूले वर्तमान अवस्थाको समीक्षा गर्दै देश र जनताको हितमा अघि बढ्ने बाटो तय गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले लोकतन्त्रलाई थप प्रभावकारी बनाउने र जनताका अपेक्षा सम्बोधन गर्ने विषयमा राजनीतिक दलहरूबीच बहस र संवाद आवश्यक रहेको बताउनुभयो । लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button