तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको रक्षा गर्न काँग्रेससँग सहकार्य आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली काँग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गर्नुभयो । त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उहाँले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताउनुभयो ।

“गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो”, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले काँग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्नुपर्ने बताउनुभयो । राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध पनि आफूहरू काँग्रेससँगै मिलेर अघि बढेको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ”, उहाँले भन्नुभयो, “राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ। अब फेरि पनि काँग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ।”

महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको बताउनुभयो । 

उहाँले काँग्रेसले आगामी दिनमा यस विषयलाई लिएर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।महासचिव पोखरेलले युवाहरूलाई निराश हुन दिन नहुने बताउनुभयो । युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। “युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई उठाउँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि व्यक्त गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button