तपाईँ सुन्दै हुनुहुन्छः

मरणोपरान्त अङ्ग दान गर्नु पुण्यको काम : मुख्यमन्त्री कार्की

उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मरणोपरान्त आँखा दान गरेर दृष्टिविहीनलाई संसार देखाउने अभियान प्रदेश सरकारले अघि बढाएको बताउनुभएको छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल, उदयपुरले आयोजना गरेको ‘स्मृति वृक्षरोपणको सातौँ वार्षिक उत्सव’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका कम्तीमा एक हजार दृष्टिविहीनलाई आँखा प्रत्यारोपणमार्फत संसार देखाउने अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँले मरणोपरान्त दान गरिएका आँखाको उपयोग गरी दृष्टिविहीनलाई दृष्टि प्रदान गर्ने कार्यमा प्रदेश सरकार लागिपरेको बताउँदै आफूले समेत मरणोपरान्त आँखा दान गरिसकेको जानकारी दिनुभयो ।

“मानिस मरेपछि पनि उसको शरीरका अङ्ग अरूका लागि उपयोगी हुन सक्छन् ।  आँखा दान गरेर आफू संसारबाट बिदा भएपछि पनि अरूलाई संसार देखाउन सकिन्छ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो, “त्यसैले मरणोपरान्त अङ्ग दान गर्नु पुण्यको काम हो ।”

मुख्यमन्त्री कार्कीले मदन भण्डारी आँखा अस्पतालले स्वास्थ्य सेवासँगै वातावरण संरक्षण र सामाजिक स्मृतिलाई जोडेर अघि बढाएको वृक्षारोपण अभियान प्रशंसनीय रहेको बताउनुभयो ।

अस्पतालले आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा अस्पताल परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै आएको छ । सोही क्रममा मुख्यमन्त्री कार्कीले आफ्ना स्वर्गीय बुवा बमबहादुर कार्की र आमा जानुकादेवी कार्कीको स्मृतिमा अस्पताल परिसरमा ‘सिता अशोक’को बिरुवा रोप्नुभएको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो ।

अध्यक्ष राउतका अनुसार अस्पताल परिसरमा यसअघि पनि पूर्व प्रधानमन्त्री, पूर्वसभामुख लगायत विभिन्न उच्च पदस्थ व्यक्तित्वले आफ्ना दिवङ्गत अभिभावक तथा पितृको स्मृतिमा वृक्षारोपण गरिसक्नुभएको छ ।

स्मृतिमा रोपिएका ती बिरुवाले अस्पताल परिसरलाई हरियाली बनाउनुका साथै दिवङ्गत आफन्तको सम्झनालाई जीवन्त राख्ने काम गरिरहेको अस्पतालले जनाएको छ ।

मदन भण्डारी आँखा अस्पतालको परिसर, त्रियुगा नगरपालिका–१०, बाँसबारीमा आयोजित कार्यक्रममा कोशी प्रदेश सभा उपसभामुख सृजना दनुवार, प्रदेशसभा सदस्यहरु, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका नेताहरू, अस्पताल व्यवस्थापन समिति, कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button