राष्ट्रिय खेलकुद : झापा जिल्ल स्तरीय छनोट प्रतियोगिताको तयारी तीव्र
झापा । झापा जिल्ला खेलकुद विकास समितिले आगामी मंसिरमा सञ्चालन हुने तय भएको दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै झापामा जिल्लास्तरीय छनोट प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको सूचना जारी गरी यही असोज २० गतेदेखि असोज २५ गतेसम्ममा जिल्लास्तरीय खेलाडी छनोट गरिसक्न दिएको निर्देशन अनुसार झापा जिल्ला खेलकुद विकास समितिले सार्वजनिक सूचना गर्दै खेलाडी, विधागत खेलका संघ–संस्थालाई र प्रशिक्षक–व्यवस्थापकहरूलाई खेलाडी दर्ता गर्न आह्वान गरेको र सो अनुसार समितिमा धमाधम खेलाडी तथा टिम दर्ता कार्य भइरहेको समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो । उहाँले असोज १९ गतेसम्ममा खेलाडी दर्ता गर्न सूचना जारी गरिएको बताउनुभयो ।
कार्यालय प्रमुख नेम्बाङका अनुसार २० गतेदेखि झापाका विभिन्न स्थानमा प्रतिस्पर्धा गराएरै खेलाडी छनोटको कार्य अघि बढाइनेछ ।
राष्ट्रिय खेलकुदका लागि ३२ वटा विधा तय गरिए पनि झापामा २८ वटा विधामा खेलाडी छनोट गरिने नेम्बाङको भनाइ छ ।
झापामा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फुटबल, फु. क. कराते, हक्की, आईटीएफ तेक्वान्दो, जुडो, कबड्डी, कराते, खो खो, रग्बी, सुटिङ, पौडी, टेबल टेनिस, तेक्वान्दो, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, इ–स्पोर्टस् र सेपाक्ताक्रो खेलका लागि खेलाडी छनोट गरिने र सोही अनुसार तयारी तीव्र बनाइएको समितिका अध्यक्ष शेखर कँडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्