तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई

रुपन्देही। मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३ शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो ।

पुलिसले सभापोखरीमाथि २५–२३, २५–२३, २५–२२ को जित निकाल्यो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीमाथि पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो ।  लिग चरणदेखि सानदार प्रदर्शन गरेको सभापोखरी फाइनलमा भने निराश बन्यो । 

उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

यस्तै विभागीय टोली एपिएफ क्लब तेस्रो भयो । तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराएको थियो ।

एपिएफले खैरामाथि १८–२५, २५–१९, २५–१३, २५–११ को जित निकाल्यो । तेस्रो भएको एपिएफले एक लाख ७५ हजार रुपियाँ पुरस्कार पायो ।

चौथो भएको खैराले सान्त्वना पुरस्कार स्वरूप ७५ हजार रुपैयाँ हात पार्‍यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका पहल गहतराज घोषित भए । उनले १५ हजार रुपैयाँ पाए ।

यस्तै विधागततर्फ एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसका रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ट ब्लकर, सभापोखरीका सन्तोष राई उत्कृष्ट डिफेन्डर र पुलिसका चन्द्र कुँवल उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले जनही आठ हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको विजेता टोली र खेलाडीलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री रामजी घिमिरे, पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । एकेडेमीले दोस्रो संस्करणको भलिबल आयोजना गरेको हो । तीन दिनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button