कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने
दाङ। लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभएको छ । उहाँले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो ।
नेपाल कानुन समाजद्वारा आयोजित ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले चालु वर्ष प्रदेशका सबै जिल्लामा छाला रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो ।
“कुष्ठरोगको समस्या घटाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ । तथ्याङ्क पनि घट्दो अवस्थामा छ,” मुख्यमन्त्री आचार्यले भन्नुभयो,’यो वर्ष सबै जिल्लामा छाला रोगको पहिचान गर्न स्क्रिनिङ अभियान सञ्चालन गर्छौं ।’
उहाँले कुष्ठरोगसँगै प्रदेशमा नसर्ने रोगको समस्या पनि बढ्दै गएको बताउनुभयो । विशेषगरी क्यान्सरलगायतका रोगको अवस्था बढ्दै गएकाले रोगको समयमै पहिचान र उपचारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोग लागेका व्यक्तिले सामाजिक लाञ्छना र विभेदको डरले रोग लुकाउने अवस्था रहेको बताउनुभयो । पछिल्लो समय त्यस्तो अवस्था क्रमशः कम हुँदै गए पनि जनचेतना अभिवृद्धिका लागि अझै धेरै काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
“सकेसम्म यो रोग लुकाउन खोज्ने अवस्था विगतमा थियो । अहिले त्यस्तो अवस्था छैन,”उहाँले भन्नुभयो, ‘तर, चेतना अभिवृद्धि जति गर्नुपर्ने हो, त्यसलाई अझै बढाउन जरुरी छ ।’
कुष्ठ प्रभावित व्यक्तिलाई उपचारको पहुँचमा ल्याउनुका साथै सामाजिक सुरक्षाको दायरामा समेट्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । उहाँले सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले कुष्ठरोग स्वास्थ्य समस्यामा मात्र सीमित नरहेको बताउँदै प्रभावित व्यक्तिको सामाजिक र आर्थिक अवस्थासँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रोगका कारण हुने सामाजिक विभेद अन्त्य गर्न राज्यका कार्यक्रमसँगै समुदायस्तरमा चेतना विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानवअधिकारसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास जगाउन आवश्यक रहेको बताउनुभयो ।
वरिष्ठ छाला रोग विशेषज्ञ डा। रविन्द्र बास्कोटाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २ हजार ४ सय ९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । उपचारमा रहेका बिरामीको संख्या २ हजार ६ सय ८ रहेको छ ।
स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५ सय ४७ जना कुष्ठरोगका बिरामी छन् । कुष्ठरोगका कारण हुने लाञ्छना र भेदभाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्