भद्रपुरमा डेंगी र जेइविरुद्ध सचेतना कार्यक्रम

भद्रपुर, झापा । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी तथा जापानीज इन्सेफलाइटिस (जई)को जोखिम बढिरहेका बेला झापाको भद्रपुरमा सचेतनामूलक कार्यक्रमसहित लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।
आज जिल्ला प्रशासन कार्यालय झापाको परिसरबाट सुरु भएको चेतनामूलक र्याली ट्रेड युनियन चोक, लेखनाथ चोक हुँदै बजार क्षेत्रबाट धनुषमोड पुगेर पुनः जिल्ला प्रशासन कार्यालयमै आएर समापन गरिएको थियो ।
त्यसक्रममा क्रममा डेङ्गी तथा जापानीज इन्सेफलाइटिस(जेइ)बाट बच्ने उपायबारे माइकिङमार्फत सूचना प्रसारण गर्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा लामखुट्टेको लार्भा तथा प्युपा खोजी गरी नष्ट गरिएको थियो ।
अभियानका क्रममा पसल, ग्यारेजलगायत स्थानमा पुगेर सञ्चालकलाई पानी जम्न नदिन आग्रह गरिएको थियो ।
सिसाका बोतल, पुराना टायर, भाँडाकुँडा तथा अन्य सामग्रीमा पानी जम्दा लामखुट्टेले प्रजनन गर्ने भएकाले त्यस्ता सामग्री खाली गर्ने वा उल्टो पारेर राख्न सचेत गराइएको थियो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासका अनुसार डेङ्गी तथा जापानीज इन्सेफलाइटिसको संक्रमण रोक्न जिल्लाका १५ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।
वर्षायाममा लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न र यसको वृद्धि रोक्न आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालय झापाका डेङ्गी रोग फोकल पर्सन युवनाथ बरालका अनुसार झापामा वैशाखदेखि भदौसम्म ८५० जना डेङ्गी संक्रमित फेला परेका छन् भने जापानीज इन्सेफ्लाइटिसका रोगी पनि फेला परेका छन् ।
बिर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका स्थानमा सङ्क्रमणको दर तुलनात्मक रूपमा उच्च रहेको उहाँले बताउनुभयो ।
अभियानमा भद्रपुर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय ओम साई पाथीभरा हस्पिटल, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, रेडक्रसकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्