तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा जेनजी आन्दोलनका दुई सहिदको परिचय स्थानीय पाठ्यक्रममा समेटिँदै

बाँके।बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगञ्ज–१ धम्बोजीका दुई युवाको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको योगदान तथा परिचय नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले पाठ्यक्रममा समावेश गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरप्रमुख प्रशान्त विष्टले सहिद परिवारको आग्रहअनुसार पाठ्यक्रममा परिचय समेट्ने प्रक्रिया अघि बढाइने बताउनुभएको छ।

यस्तै, दुवै युवाको स्मृतिमा धम्बोजीस्थित वडा कार्यालय परिसरमा ‘सहिद योग भवन’ र खुला जिम हाउस निर्माण गरिएको छ। वाटरपार्क नजिकै अर्धकदको सालिक तथा विशालनगर क्षेत्रमा ‘सहिद प्रवेशद्वार’ निर्माण गर्ने तयारी पनि भइरहेको छ।

दुवैको सम्मानमा ‘सहिद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णयसमेत गरिएको वडा कार्यालयले जनाएको छ।

यसैबीच, सहिद परिवारले भने स्मृति र सम्मानका कार्यक्रमसँगै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा आफ्ना माग सम्बोधन गर्न सरकारसँग माग गर्दै आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button