तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका सामाजिक विकास मन्त्रीद्वारा रेडियो नेपाल धनकुटाको निरीक्षण

धनकुटा । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले शनिबार सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय धनकुटाको निरीक्षण गर्नुभएको छ।

धनकुटा जिल्लाका विभिन्न कार्यालयको निरीक्षण गर्ने क्रममा मन्त्री तिम्सिनाले रेडियो नेपाल धनकुटाको पनि निरीक्षण गर्नुभएको हो।

कार्यालयको निरीक्षणपछि कर्मचारीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री तिम्सिनाले आफू पनि रेडियो नेपाल सुन्दै हुर्किएको स्मरण गर्दै नागरिकलाई सुसूचित गर्न तथा समाजमा शिक्षा र चेतना प्रवाह गर्न रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएको रेडियो नेपाललाई थप सशक्त बनाउन कोशी प्रदेश सरकारका तर्फबाट सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा प्रादेशिक प्रसारण कार्यालय धनकुटाका कार्यालय प्रमुख तिलविक्रम चेम्जोङले कार्यालयको सेवा तथा पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो।

कार्यालय प्रमुख चेम्जोङले प्रादेशिक प्रसारण कार्यालय धनकुटाले प्रसारण सेवामार्फत कोशी प्रदेशमा सत्यतथ्य सूचना प्रवाहसँगै समग्र सामाजिक विकासका लागि गर्दै आएका प्रयासबारे पनि जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button