आश्विन कृष्ण तृतीया: वसुन्धरा देवीको व्रत बसी गरियो पूजा आराधना
काठमाडौँ । लुमधी भद्रकाली महिला समूह (निशा पुचः)को आयोजनामा टेबहालस्थित सङ्कटा मन्दिर परिसरमा वसुन्धरा व्रत पूजा गरिएको छ ।
सुस्वास्थ्य एवं सुख, शान्तिको कामनाले यो व्रत गर्ने परम्परा रहेको सबलबहालका सिद्धिमुनि बज्राचार्यले जानकारी दिनुभयो । प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन यो व्रत एवं पूजा गर्ने विधि रहेको छ । यो व्रत, पूजा वसुन्धरा र स्वयम्भूमा पनि गरिन्छ । तीनै स्थानमा सामूहिक रूपमा यो व्रत एवं पूजा गर्ने परम्परा रहेको छ । यो व्रत एवं पूजामा वसुन्धरा देवीको विशेष आराधना गरिन्छ ।
टेबहालस्थित सङ्कटा मन्दिर परिसरमा भने आज ११३ जना व्रतालुले पूजा, आराधना गरेको लुमधी भद्रकाली मन्दिरका पुजारी गणेशबहादुर महर्जनले जानकारी दिनुभयो । देश र पारिवारिक सुख, शान्तिको कामनाले पनि यो व्रत एवं पूजा गरिने प्रचलन रही आएको छ ।
यो व्रत एवं पूजासँग एउटा किम्बदन्ती पनि जोडिएको छ । प्राचीनकालमा सुदर्शन नामका राजा थिए । राजाका दुई श्रीमती थिए । कान्छी श्रीमतीको खराब भावना थियो । राजा कान्छी श्रीमतीको पक्षमा लागेर भोग बिलासमा केन्द्रित हुँदा देशमा अनावृष्टि भयो । जनतामा हाहाकार भयो । खान नपाउने अवस्था बन्यो ।
जेठी रानीले वसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेपछि वृष्टि भयो । त्यसपछिदेखि नै प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन वसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेर यो कथा सुन्ने परम्परा सुरु भएको हो ।
आश्विन कृष्ण तृतीयाका दिन वसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेपछि चतुर्थीका दिन बिहान सुन्धारामा गएर स्नान गरेपछि व्रत विधि पूरा हुन्छ । सुन्धारामा पानी नआउने भएकाले बाल्टीमा पानी लगेर स्नान गर्नुपर्ने बाध्यता रहेको भद्रकाली मन्दिरका पुजारी महर्जनले दुःखेसो गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्