लामो दूरीका रात्रिकालीन सवारीमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ ।
यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले लामो दूरीका सवारीसाधनमा दुई चालक भए–नभएको विषयमा नियमित जाँच तथा अनुगमन गर्ने जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार रातिको समयमा लामो दूरीका बस सञ्चालन गर्दा चालकको थकानका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले दुई चालकको व्यवस्था प्रभावकारी बनाउन लागिएको हो ।
नियमविपरीत एक जना मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालकसहित यात्रुको सुरक्षाका लागि रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक राख्नुपर्ने नियमलाई थप कडाइका साथ लागू गरिने बताउनुभयो ।
दुई चालक भएमा पालैपालो सवारी चलाउन सकिने र लामो यात्रामा चालकको थकान व्यवस्थापनमा सहयोग पुग्ने प्रहरीको भनाइ छ ।
यसैगरी लामो दूरीका सवारीसाधनका चालकले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरे–नगरेको विषयमा समेत कडाइका साथ चेकजाँच गरिने भएको छ ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सवारीसाधनको अवस्था, चालकको योग्यता, भाडादर र टिकट व्यवस्थापनलगायत विषयमा समेत निगरानी बढाइने प्रहरीले जनाएको छ ।
यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्