तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुल्न अझै दुई–तीन दिन लाग्ने

गुल्मी । वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक खुलाउन सोमबारदेखि स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा चारदेखि पाँच स्थानमा ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको छ ।

मुख्य सडकमा ठूलो पहिरो खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई–तीन दिन लाग्न सक्ने अध्यक्ष थापाले बताउनुभयो ।

सडक खुलाउने काममा प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक लामो समयदेखि अवरुद्ध हुँदा बागलुङ, पाल्पा, बुटवल र पोखरा आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button