तपाईँ सुन्दै हुनुहुन्छः

भुटानी राष्ट्रिय क्रिकेट टोली गण्डकीसँग पराजित

पोखरा । विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा आजदेखि सुरु भएको अभ्यास खेलमा घरेलु टिम गण्डकी प्रदेश क्रिकेट टोलीले पाहुना टोली भुटानको राष्ट्रिय पुरुष क्रिकेटको समूहलाई पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज (मङ्गलवार) भएको खेलमा गण्डकीले ८ विकेटले जित हासिल गरेको हो । भुटानले दिएको ९७ रनको सामान्य लक्ष्य गण्डकीले ११ ओभरमै २ विकेट गुमाएर लक्ष्य सहज पूरा गर्दै प्रभावशाली जित हासिल गर्‍यो ।

गण्डकीको जितमा ईश्वर क्षेत्रीले अविजित ३४ रनको योगदान दिए । यसअघि टस जितेर गण्डकीले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । गण्डकीका बलरसामु टिक्न नसकेको भुटान १९.३ ओभरमा ९६ रनमै समेटिएको थियो । भुटानका लागि सोनाम चोपेल र रन्जुङ मिक्यो दोर्जीले समान २७ रनको योगदान दिनुभयो । गण्डकीका लागि सुभाष भण्डारीले ४, अपराजित पौडेलले ३ विकेट दिनुभयो । ९७ रनको लक्ष्य पछ्याएको गण्डकीले भने सुरुदेखि नै आक्रामक शैलीमा ब्याटिङ गर्‍यो । ११ ओभरमै लक्ष्य पूरा गर्दै घरेलु टोलीले भ्रमणकारी भुटानी टोलीविरुद्ध पहिलो खेलमा सहज जित हात पार्न सफल भएको हो ।

विश्व पर्यटन दिवसको अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोली अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि पोखरा आएको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’को तयारीका लागि भुटानी टोलीले पोखरालाई अभ्यास गन्तव्यका रूपमा रोजेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button