जुम्लाको त्रिवेणी–टोप्ला अझै सडक खुलेन, नागरिकलाई सकस

जुम्ला । तातोपानी गाउँपालिका वडा नं.७ र ८ लाई कर्णाली राजमार्गमा जोड्ने त्रिवेणी–टोप्ला सडकको अवरुद्ध नखुल्दा भेरीखोला क्षेत्रका नागरिकले सास्ती पाएका छन् । यही असोज ८ गतेदेखी ११ गते सम्म भएको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध त्रिवेणी–टोप्ला सडक नखुल्दा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।
वर्षाले त्रिवेणी–टोप्ला सडक अन्तरर्गत तिला–४ को क्षेत्रमा भीषण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भौगोलिक रुपमा जुम्लाकै विकट तातोपानी गाउँपालिका वडा नं. ७ र ८ का दर्जनौँ बस्ती रहेको भेरीखोला क्षेत्रमा करिब ६ दिनदेखि सडक अवरुद्ध हुँदा नागरिकले सास्ती पाएका छन् । दैनिक कामकाजका लागि सदरमुकाम आउने नागरिक पनि गाउँमै रोकिएका छन् । जटिल खालका बिरामीको उपचारमा पनि सकस भएको बुझिएको छ ।
साथै दैनिक जसो त्रिवेणी भएर टोप्ला सम्म पुग्ने यात्रु बाहक तथा माल बाहक सवारी साधन त्रिवेणीमै रोकिएका छन् । भने दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा असहज भएको तातोपानी–७ टोप्लाका स्थानीय सन्देश शाहीले बताउनुभयो । उहाँले त्रिवेणी–टोप्ला सडक अवरुद्ध समयमै कहिले पनि नखुलेको गुनासो पोख्नुभयो ।
उहाँले भन्नुभयो,‘वर्षा सुरु भएसँगै त्रिवेणी–टोप्ला सडक धेरै पटक अवरुद्ध भयो । तर समयमै कहिले खुलेन । सडक अवरुद्ध हुँदा राज्यको स्रोत साधन सधैँ कर्णाली राजमार्ग, नाग्म–गमगढी सडक मात्रै खुलाउने, अन्तिममा मात्रै त्रिवेणी–टोप्ला सडक खुलाउने विभेदपूर्ण व्यवहार खेपिरहेका छौ ।’
त्रिवेणी–टोप्ला सडकमा प्राय पहिरो गइरहने भएकाले आवश्यक जनशक्ति र मेसिन उक्त क्षेत्रमा तैथानी राख्नु पर्नेमा भेरी खोलाका स्थानीयको माग छ । हजारौँ नागरिक बसोबास गर्ने, जाजरकोटलाई जोड्ने एकमात्र माध्यम त्रिवेणी–टोप्ला सडक स्तरोन्नति सरकारको प्रथामिकतामा नपरेको भेरी खोलाकासीको दुखेसो छ ।
यता सडक डिभिजन जुम्लाले सीमित स्रोत साधनका कारण सबै क्षेत्रका सडक एकै पटक खुलाउन सम्भव नरहेको बताएको छ । अविरल वर्षाले कर्णाली राजमार्गको गगने खोला, राँचुलीमा ठुलो पहिरो गएपछि त्यस क्षेत्रको पहिरो पन्छाइएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो
राराजाने नाग्म–गमगढी सडक पनि खुलिसकेको छ । उहाँले भन्नुभयो,‘कर्णाली राजमार्गको पहिरो पन्छाएर मेसिन जुम्ला आइसकेको छ । डोजर र टिप्पर दुवै पठाउनु पर्ने छ । सीमित स्रोत साधनका बीच पहिरो पन्छाउने कामलाई गति दिएका छौ । अब बुधबार (आज) बिहानबाटै पहिरो पन्छाउन सुरु हुन्छ ।’ विगतको तुलनामा यस वर्षको बर्खामा अवरुद्ध भएका सडक खुलाउन सडक डिभिजनले निकै तीव्रताका साथ काम गरेको छ ।
दशैलाई लक्षित गरी सडकलाई भरपर्दो र सहज रुपमा यात्रा गर्ने बनाउन सबै संयन्त्र परिचालन गर्ने सडक डिभिजन जुम्लाको तयारी छ ।








प्रतिक्रिया राख्नुहोस्