काँकडभिट्टा नाकाबाट एलपी ग्याँसको आयातमा वृद्धि
झापा । पूर्वी नाका काँकडभिट्टाबाट भदौ महिनामा खाना पकाउने एलपी ग्याँसको आयातमा भारी वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को भदौ महिनाको तुलनामा आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा एलपी ग्याँसको आयातमा ५२.२९ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०८२÷०८३ को भदौ महिना २० लाख ६८ हजार ७३१ किलोग्राम एलपी ग्याँस आयात भएको थियो भने चालू आवको भदौ महिनामा ३४ लाख ३५ हजार ९०० किलोग्राम ग्याँस आयात भएको भन्सारले जनाएको छ ।
ग्याँस आयातबाट ७ करोड ९९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । यो अघिल्लो वर्षको भदौको तुलनामा १०९.५९ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको भदौ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट एलपी ग्याँससँगै पेट्रोल, डिजेल र मट्टितेलको आयातसमेत बढेको छ ।
आव २०८२/०८३ को भदौको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात ७ हजार ४४८ किलोलिटरबाट बढेर ११ हजार ६३२ किलोलिटर पुगेको छ ।
त्यस्तै, डिजेलको आयात ४ हजार ३२८ किलोलिटरबाट बढेर ५ हजार ६४ किलोलिटर पुगेको छ । मट्टितेलको आयात १२० बाट बढेर २०४ किलोलिटर पुगेको छ ।
हवाई इन्धन एटीएफको आयात भने ६९६ किलोलिटरबाट घटेर ६२८ किलोलिटर पुगेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्