झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट
भद्रपुर (झापा)। दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुआत गरिएको छ । चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो रु पाँच तथा नुनमा प्रतिकिलो रु दुई छुट दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला उपभोक्तालाई राहत पुग्ने गरी सरकारी संस्थानसँग समन्वय गरेर दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो ।
“चाडपर्वका बेला उपभोक्तालाई राहत दिन चामल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो । जिरा मसिनो चामल रु ८५ र सोना मन्सुली चामल रु ५७ प्रतिकिलोमा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोडस्थित मुख्य शाखा कार्यालयका प्रमुख राजबहादुर राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयमा हाल सोना मन्सुली चामल दुई हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल तीन हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात छ । माग र आवश्यकताका आधारमा थप खाद्यान्न मगाइने उहाँले बताउनुभयो । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जिल्लाका २५ भन्दा बढी विक्रेतामार्फत नुन तथा चिनी उपलब्ध गराउँदै आएको जनाएको छ । कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार एथेष्ट नुन मौज्दात रहेको छ । प्रजिअ पोखरेलले चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने बताउनुभयो । उहाँले उपभोक्ता हितविपरीतका गतिविधि भेटिए प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड,विराटनगर,राजविराज,लहान,जनकपुर,वीरगञ्ज,हेटौडा, नारायणगढ,त्रिशुली,पोखरा र बाग्लुङमा दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्