सेतीबेणीमा कालीगण्डकी बाढीको कहर
स्याङ्जा।चार दिनसम्म लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले बस्ती, सडक, पुल, धार्मिक तथा शैक्षिक संरचनामा क्षति पुर्याएपछि स्थानीय जनजीवन प्रभावित भएको छ।
तीन जिल्लाको संगमस्थल स्याङ्जाको सेतीबेणी बजार बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। कालीगण्डकी नदीको बहाव बढेपछि बजार क्षेत्रका करिब ५० घर डुबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय तथा औषधि पसलमा समेत बाढी पसेको छ।
घर तथा पसलमा पानी पसेपछि वर्षौँदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीय विस्थापित भएका छन्। बजार क्षेत्रमा अहिले चहलपहल घटेको छ भने प्रभावित परिवार विद्यालयलगायत सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन्।
बाढीले स्याङ्जा र गुल्मी जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने हर्मीचौरस्थित पक्की पुलसमेत बगाएको छ। पुल बगेपछि दुई जिल्लाबीचको आवतजावत प्रभावित भएको छ।
कालीगण्डकीको बाढी सेतीबेणीमा मात्रै सीमित रहेन। राम्दीस्थित प्रहरी चौकीसमेत डुबानमा परेको छ। राम्दीको संस्कृत गुरुकुल र उत्तरवाहिनीस्थित गुरुकुलमा पनि बाढीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।
स्थानीयका अनुसार यसपटकको बाढी विसं २०१८ सालपछिकै ठूलो हो। असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षाका कारण कालीगण्डकी नदीको बहाव असामान्य रूपमा बढेको हो।
बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्याए पनि मानवीय क्षति भने हुन पाएन। बाढी आउनुअघि नै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउनुका साथै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार, पूर्वसूचना र स्थानीय प्रशासनको आग्रहपछि जोखिममा रहेका धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका थिए।
बाढीबाट विस्थापित परिवार अहिले विद्यालयलगायत सुरक्षित स्थानमा बसेका छन्। प्रभावित क्षेत्रमा विभिन्न निकायबाट राहत सामग्री पठाउने क्रम सुरु भए पनि ठाउँ–ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा राहत सामग्री पुर्याउन समस्या भइरहेको प्रशासनले जनाएको छ।
घर, पसल, पुल, प्रहरी चौकी तथा धार्मिक र शैक्षिक संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाको आवश्यकता बढेको छ। वर्षौँदेखि व्यापार र बसोबास हुँदै आएको सेतीबेणी बजार अहिले बाढीको क्षतिले अस्तव्यस्त बनेको छ।
कालीगण्डकीको बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्याए पनि पूर्वसूचना, समयमै गरिएको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका कारण मानवीय क्षति हुनबाट जोगिएको छ। अब प्रभावित परिवारको सुरक्षित बसोबास, राहत तथा पुनःस्थापनामा तत्काल ध्यान दिनुपर्ने देखिएको छ।





प्रतिक्रिया राख्नुहोस्