ज्योतिष विषयको अध्ययन, अनुसन्धान गर्नुपर्नेमा जोड

काठमाडौँ । ज्योतिष विषयको अध्ययन, अनुसन्धान गरिनुपर्नेमा सांसदलगायत सरोकार भएकाहरूले जोड दिनुभएको छ । ज्योतिष परिषद् नेपाल, बागमती प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा पूर्वाधार विकास समितिका सभापति आशीष गजुरेलले सामान्य भविष्य हेर्नुमात्र ज्योतिष नभई यसको अध्ययन, अनुसन्धान गरी नयाँ तथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो ।
ग्रह नक्षत्रको अवस्था, आइपर्ने अफ्ठयारालगायत विषयमा अध्ययन, अनुसन्धान गरी ज्योतिषसँग सम्बन्धित संस्थाले कार्ययोजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन, समाज र मुलुकमा शान्तिका लागि धर्म, संस्कृतिका मान्यता जोडिएका बताउँदै उहाँले संस्कृतिलाई विकाससँग जोड्नुपर्ने विचार राख्नुभयो ।
सांसद प्रकाश गौतमले आधुनिक विज्ञानको सुरु नहुँदै ज्योतिष विज्ञान अस्तित्वमा रहेको उल्लेख गर्दै धर्म, संस्कृतिको जगेर्ना गर्दै सहकार्य र समन्वयबाट सबै अघि बढ्नुपर्ने बताउनुभयो । हचुवाका भरमा भविष्यवाणी गरेर ज्योतिष क्षेत्रलाई बदनाम गराउन रोक्नुपर्ने भन्दै उहाँले अधिवेशनले नीति निर्धारण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा धनेश्वर नेपालले ज्योतिष चिना हेर्ने र कर्मकाण्डका लागि साइत तथा मुहूर्त मात्र दिने विषय नभएको उल्लेख गर्दै यसका वैज्ञानिक पक्षमा अध्ययन, अनुसन्धानका काम परिषद्जस्ता संस्थाले गर्नुपर्नेमा जोड दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले ज्योतिष प्राचीनकालदेखिको विज्ञान भएकाले यसको अध्ययन, अनुसन्धानलाई जोड दिन सुझाव दिनुभयो ।
परिषद्का अध्यक्ष मेघराज आचार्यले ज्योतिष विद्यालाई मर्यादित र अनुशासित बनाउन संस्था स्थापना गरिएको जानकारी दिँदै यस विषयमा अध्ययन, अनुसन्धान गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो । ज्ञान र निष्ठावान् ज्योतिषी उत्पादन गरेर मौलिक ज्योतिष परम्पराको संरक्षण गरिने उहाँको भनाइ छ ।
वाल्मीकि विद्यापीठ फलित ज्योतिष विषयका उपप्राध्यापक डा नारायण निरौलाले ज्योतिषी र ज्योतिषीय सफ्टवेयर धेरै भएपनि ज्योतिषका गूढतम् रहस्य जान्ने मानिसको अझै कमी रहेकाले यस्ता संस्थाले त्यसको पूर्ति गर्नुपर्ने सुझाव दिनुभयो ।
‘वेदान्त पुष्पमाला’ सार्वजनिक
कार्यक्रममा स्वामी डा चक्रपाणी आचार्यले लेख्नुभएको वेदान्त पुष्पमाला पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकका विषयमा समीक्षा गर्दै डा कृष्णप्रसाद भण्डारी ‘मुमुक्षु’ ले वेद, उपनिषद्, पुराणका भावलाई लेखकले लयबद्ध एवं सुन्दर कवितात्मक शैलीमा प्रस्तुत गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, परिषद्का काठमाडौँ अध्यक्ष ऋषिराज ढुङ्गाना, ओमकारेश्वर भजन समूहका अध्यक्ष पुण्यप्रसाद घिमिरे, ज्योतिषीहरू दुर्गामणि गौतम, दीनानाथ पण्डित, पुस्तकका लेखक आचार्य, परिषद्का महासचिव नीलप्रसाद भट्टराईलगायतले आध्यात्मिक चेतनाका लागि पुस्तक महत्वपूर्ण प्रकाशन भएकामा जोड दिनुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्