तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौँ ।  झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १६ लाख ८९ हजार २५० आर्थिक सहयोग गरेको छ । 

समाजले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित जनताको राहत र पुनःस्थापनाका लागि आज प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो । 

तनहुँका समाजसेवी इन्जिनियर सुजन विष्टको समन्वयमा सङ्कलित उक्त रकम आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । 

मन्त्री वाग्लेलाई पुलिस मेस एसोसिएसन भारत राँचीका अध्यक्ष रामबहादुर गोदार, गोरखा सेवा निवृत्त सङ्घ राँचीका अध्यक्ष राजेनसिंह क्षेत्री, गोरखा उत्कर्ष युवा सङ्घका उज्वल थापा, दिवस ओली र गोविन्द पाण्डेले हस्तान्तरण गर्नुभएको हो ।

उक्त रकम झारखण्ड गोरखा समाजको अगुवाइमा प्रथम बाहिनी झारखण्ड, सशस्त्र पुलिस, गोरखा सेवा निवृत्त सङ्घ, भजनकीर्तन मण्डली  र गोरखा उत्कर्ष युवा सङ्घ राँची झारखण्डको पहलमा सङ्कलन गरिएको हो । 

रकम बुझ्दै मन्त्री वाग्लेले भारतको झारखण्डमा रहेर नेपालप्रति देखाएको स्नेह र सहकार्यप्रति हार्दिक आभार प्रकट गर्नुभयो । उक्त कार्यले सामाजिक र मानवीय एकतालाई मजबुद बनाएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button