पहिरोको जोखिम बढेपछि सोलुखुम्बुमा परिवार स्थानान्तरणको तयारी
सोलुखुम्बु । निरन्तरको भारी वर्षाका कारण सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा परेका छन् ।
थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा तीन घर जोखिममा परेपछि ती घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीका अनुसार देउसाबाहेक सोलुदुधकुण्ड नगरपालिका क्षेत्रको दोर्पुमा गएको पहिरोका कारण दुई–तीन घर जोखिममा रहेका छन् । पहिरोबाट ती घर करिब चार–पाँच सय मिटर तल रहेकाले तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था नरहे पनि स्थानीयलाई सतर्क गराइएको उहाँले बताउनुभयो ।
यस्तै, पत्ताले नजिकका दुई घरसमेत जोखिममा रहेको जानकारी प्राप्त भएपछि ती घरका परिवारलाई तत्काल सुरक्षित स्थानमा सर्न भनिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । भारी वर्षाका कारण जिल्लाका अन्य स्थानबाट समेत विपद्का घटनासम्बन्धी सूचनाहरू प्राप्त हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
प्राप्त सूचनाका आधारमा सुरक्षा निकायले आवश्यक समन्वय तथा उद्धार र स्थानान्तरणका लागि तयारी गरिरहेको उहाँको भनाइ छ ।
प्रहरीले वर्षाका कारण पहिरो तथा अन्य विपद्को जोखिम बढेकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्