तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण लुम्बिनीका यी सडकमा यातायात प्रभावित

रुपन्देही । दुई दिनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ । 

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलका अनुसार अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सडक यातायात प्रभावित भएका हुन।

वर्षाका कारण मुख्य राजमार्ग, सहायक मार्ग तथा हुलाकी सडक खण्डहरूमा पहिरो, गेग्रान र बाढी आउँदा यातायात आवागमन अवरुद्ध भएको कार्यालयले जनाएको छ। 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका–२, भुवनपाटास्थित सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा शुक्रबार दिउँसो १५ः५५ बजे पहिरो जाँदा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल उक्त स्थानमा पहिरो पन्छाएर बाटो खुलाउने कार्य जारी रहेको छ। त्यस्तै, अर्घाखाँचीकै सन्धिखर्क नगरपालिका–६, रिपास्थित गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डमा दिउँसो अवरुद्ध भएको बाटो भने पहिरो हटाई सडक सुचारु भइसकेको छ।

यसैगरी, कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१, स्याउली बजारमा दिउँसो खसेको पहिरोपछि सडक हाल एक तर्फी रूपमा सुचारु गरिएको छ। सोही करिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–१, राक्सेमा भने बिहान ९ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यस्तै, रोल्पाको माडी गाउँपालिका–२, भालुमारेस्थित सहिदमार्ग सडक खण्डमा दिउँसो ३ः०० बजेदेखि पहिरोका कारण सडक पूर्णरूपमा ठप्प भएको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउनका लागि समन्वय र पहिरो पन्छाउने पहल भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

यसैगरी पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक सुचारु गरिएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पाको यो सडकमा तिनाउको हेडवक्स नजिकै बिहान ११ः२० मा पहिरोले अवरुद्ध भएकोमा पहिरो हटाएर दिउँसो १ः०० बजेदेखि सडक सुचारु गरिएको थियो । पाल्पाकै रप्दिकोट गाउँपालिका–५ बोधिमा रहेको भित्री सडक खण्ड भने पहिरोले अवरुद्ध छ । तानसेनदेखि हार्थोक छहरा हुँदै अर्घाखाँची जाने बाटो अवरुद्ध भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button